संसद रक्षाका लागि सभामुख जस्तोसुकै कदम चाल्न तयार (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताउनुभएको छ ।
पूर्वसभामुखहरुसँगको छलफलमा सभामुख सापकोटाले संसदको रक्षाका लागि आफु प्रतिबद्ध रहेको र जसतो सुकै कदम चाल्न तयार रहेको बताउनुभएको हो । सभामुख संसदको रक्षाका लागि परामर्शमा रहेको छलफलपछि पूर्वसभामुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
पूर्वसभामुखहरुले दुईदुईपटक विघटन गरिएको हुँदा पूर्णत असंवैधानिक रहेको भन्दै यसको रक्षाका लागि भूमिका खेल्न पनि सुझाव दिएका छन् । पूर्व सभामुख पौडेलले विघटित संसदको रक्षाका लागि सभामुख सापकोटाको भूमिका हुने र खेल्नुपर्ने आफ्नो पनि मत रहेको बताउनुभयो ।
छलफलपछि पूर्व सभामुख ओनसरी घर्तिले सरकार बन्ने अवस्था रहँदा रहँदै पनि संसद् विघटन हुनु दुखद् भएको बताउनुभयो । संसद बचाउन सभामुख सापकोटाले आफ्नो विशेषाधिकार प्रयोग गर्न सक्ने पनि पूर्वसभामुख घर्तिको तर्क छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि सभामुख सापकोटाले विरोध गर्दै आउनुभएको छ । कानूनी परामर्शसमेत गरेका सापकोटाले आज पूर्व सभामुखसित छलफल गर्नुभएको हो ।
आज रामचन्द्र पौडेल, ओनसरी घर्ति र कृष्णबहादुर महरा उपस्थित हुनुहुन्थ्यो भने तारानाथ रानाभाट भर्चुअल माध्यमबाट सहभागी हुनुभयो । दमनननाथ ढुंगाना अस्वस्थ भएकाले नआएको बताइएको छ । सुवासचन्द्र नेम्वाङले भने छलफलमा उपस्थित हुन अस्वीकार गर्नुभएको थियो ।
प्रतिक्रिया