Main News

काठमाडौं उपत्यकामा एक साता लम्बियो कडा प्रावधानसहित निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने ((भिडियो रिपोर्टसहित)-सूचनासहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १८:२०
काठमाडौं उपत्यकामा एक साता लम्बियो कडा प्रावधानसहित निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने ((भिडियो रिपोर्टसहित)-सूचनासहित)

११ जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको छ ।

सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको छ ।

वाणिज्य बैंकका तीन र विकास बैंकका दुई शाखा मात्र खुल्ने पाउने छन् । बैंकका सवारी साधन संचालनको हकमा बढीमा २ वटा सवारी पास जारी गरी सोको विवरण राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय भएको छ ।

आदेश नमाने हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जनाइएको छ ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ।

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *