Main News

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र प्रमुखमा पूर्वरथी शर्मा नियुक्त

हिमालय टिभी
२०७८ जेठ ११ गते १३:१२
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र प्रमुखमा पूर्वरथी शर्मा नियुक्त

११ जेठ २०७८ काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो । पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गर्नुभएको थियो ।

शर्माले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पाउनुभएको हो ।

शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ ।

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहनुभएको थियो । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आउनुभएको थियो ।

निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *