बाँकेमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु
१० जेठ २०७८ बाँके । बाँकेमा उपचारका क्रममा बर्दिया र दाङका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका चारजना र दाङका दुईजना संक्रमितको मृत्यु भएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार साँझ मृत्यु भएको छ ।
उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो । बर्दियाकै बासगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै आज बिहान मृत्यु भएको हो ।
बर्दियाकै गुलरीय नगरपालिका–१२ का ५५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज बिहान मृत्यु भएको छ ।
बर्दियाकै बढैयाताल गाउँपालिका–२ की ७० वर्षीया महिलाको भेरी अस्पतालमा आज बिहान मृत्यु भएको ओलीले जानकारी दिनुभयो । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ७१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार राति मृत्यु भएको छ ।
यस्तै दाङकै लमही नगरपालिका–४ का ४३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । दाङका दुवैजनामा जेठ २ गते संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया