Main News

संसद विघटनविरुद्ध विपक्षी दलहरु आज सर्वोच्च अदालत जाने तयारीमा

हिमालय टिभी
२०७८ जेठ ९ गते ७:२५
संसद विघटनविरुद्ध विपक्षी दलहरु आज सर्वोच्च अदालत जाने तयारीमा

९ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमका विरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्।

त्यसका लागि आज बिहान ११ बजे संसद् भवनमा विपक्षी गठबन्धनका सांसदहरू भेला हुँदै छन्।

उक्त भेलामा वकिलहरूले तयार पारेको प्रारम्भिक रिटबारे छलफल हुनेछ। साथै, रिट निवेदनमा हस्ताक्षरसमेत संकलन गरिनेछ।

गठबन्धनका शीर्ष नेताहरूका अनुसार सम्भवतः १४९ जना सांसदको हस्ताक्षर संकलन गरिनेछ । तर मुलुकमा निषेधाज्ञा जारी रहेको अवस्थामा केही सांसद उपत्यकाबाहिर पनि रहेको र खासगरी एमाले माधवकुमार नेपाल पक्षका केही सांसदले हस्ताक्षर नगर्ने सम्भावना पनि छ।

रिट लेखन र हस्ताक्षर संकलन कार्य आज नसकिएमा भोलि भए पनि उनीहरू सर्वोच्च जाने तयारी गरेका छन् ।

केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान पौने २ बजे संसद् भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गर्नु भएको छ ।

त्यसको तत्काल विरोधमा उत्रिएको गठबन्धनमा विपक्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *