Main News

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिकः सभामुख सापकोटा

हिमालय टिभी
२०७८ जेठ ८ गते १८:३७
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिकः सभामुख सापकोटा

८ जेठ २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला विपरीत भएको सभामुख सापकोटाको निष्कर्ष छ ।

उहाँले आज विज्ञप्ती निकाली संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु स्वाभाविक र संवैधानिक कदम मान्न नसकिने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयबाट गएराति जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाने सापकोटाको भनाइ छ ।

उहाँले राष्ट्रपतिको कदमलाई शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत पनि भन्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *