संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएको विपक्षी दलहरुको ठहर (भिडियो रिपोर्टसहित)
८ जेठ २०७८ काठमाडौं । विपक्षी गठबन्धन र नेकपा एमालेको नेपाल– खनाल समूहले मध्यरातमा भएको संसद विघटन असंवैधानिक र प्रतिगामी भएको ठहर गरेको छ ।
विपक्षी चार दल र एमालेको नेपाल–खनाल समूहको आज बानेश्वरमा बसेको संयुक्त बैठकले संसद विघटनविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ सांसदको हस्ताक्षरसहित आफूहरुले पेश गरेको दाबीमाथि संविधानतः निर्णय गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसँगको मिलेमतोमा बदानियतपूर्ण रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको निष्कर्ष छ ।
बैठकपछि नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खडकाले संसद मास्ने कामको निन्दा र भत्सर्ना गरेको जानकारी दिनुभयो ।
निर्वाचन नगराइ आफ्नो निरंकुश सत्ता लब्याउने दूराशयबाट मध्यावधि घोषणा गरेको विपक्षी गठबन्धनको निष्कर्ष छ ।
यसले कोरोना संक्रमणको महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवन झन् संकटतिर धलेकेको भन्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध एकतावद्ध भएर अघि बढ्न आव्हान गरेको छ ।
विपक्षी गठबन्धनले असंवैधानिक कदमको राजनीतिक र कानूनी रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया