Main News

विपक्षी दलहरुले भने–संसद विघटन र चुनाव घोषणा पूर्व नियोजित षड्यन्त्र

हिमालय टिभी
२०७८ जेठ ८ गते ९:२७
विपक्षी दलहरुले भने–संसद विघटन र चुनाव घोषणा पूर्व नियोजित षड्यन्त्र

८ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गर्ने सरकारको निर्णयलाई विपक्षी दलहरुले पूर्व नियोजित षड्यन्त्रको श्रृंखला भन्दै चर्को विरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले अधिनायकवादी कदम चाल्दै संविधानलाई भड्खालोमा हालिएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री अधिनायकवादको हाइवेमा आइपुगेको र एक भिन्न कोतपर्वमार्फत संविधानलाई भड्खालोमा पारिएको टिप्पणी गर्नु भएको छ ।

संगठित प्रतिवाद गर्दै संविधानलाई ठीक ट्र्याकमा ल्याउने उहाँको भनाइ छ । महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई मध्यावधि चुनावको निर्मम उपहार दिएको उहाँको टिप्पणी छ ।

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीप्रति आक्रोश ब्यक्त गर्नु भएको छ । उहाँले फेसबुकमा स्टाटस लेख्दै संविधानको संरक्षक राष्ट्रपतिले पदीय मर्यादा भुलेर मध्यरातमा संविधान च्यातेको टिप्पणी गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रले पनि सरकारको कदमको विरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओलीको असंवैधािनक कदमको प्रतिवाद गर्ने बताउनुभयो ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता पौडेलले अब लोकतन्त्र बचाउन माओवादी केन्द्र अरु दलसँग मिलेर लड्ने बताउनुभयो । कोरोना महामारी विरुद्धको लडाइँसँगै संविधान र लोकतन्त्र बचाउन विभिन्न रुपको संघर्ष जारी राख्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *