वैकल्पिक सरकारको प्रधानमन्त्रीमा ओली र देउवाको दाबी
७ जेठ २०७८ काठमाडौं । वैकल्पिक सरकारका लागि प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ ।
संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले नयाँ सरकार बनाउन दावी पेश गर्नुभएको हो ।
ओलीले आफूलाई एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ जना सांसदको समर्थन रहेको दावी गर्नुभएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले नयाँ सरकारका लागि दावी गरेको पुष्टि गर्नुभएको छ ।
दावीमा एमालेका तर्फबाट संसदीय दलका नेता केपी शर्मा ओली, जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षर छ ।
यस्तै कांग्रेस सभापति देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी १ सय ४९ जना सांसदको समर्थन सहित दावी पेश गर्नुभएको छ ।
ओलीले दावी पेश गरे लगत्तै देउवाले पनि दावी पेश गर्नुभएको हो । तर सरकारमा दावी पेश गर्ने क्रममा राजनीतिक दल र तिनका नेताले निकै लज्जास्पद गतिविधि देखाएका छन ।
जसपाको उपेन्द्र यादव समूहका १३ जना सांसद देउवाको पक्षमा उभिएपनि ओलीले राजेन्द्र महतो र महन्थ ठाकुरको आठमा सबै ३२ जनाको समर्थनरहेको दावी पेश गर्नुभएको छ ।
यस्तै एमालेकै नेपाल खनाल पक्षका केही सांसदले हस्ताक्षर दुरुपयोग गरेको, भनेर आपत्ति जनाएपनि देउवाले माधवकुमार नेपालको आडमा २७ जनाको समर्थन र हस्ताक्षर सहित दावी पेश गर्नुभएको छ ।
नागरिकले कोरोना महामारीमा ज्यान गुमाइरहेका बेला सरकार बनाउन स्वयं प्रधानमन्त्री ओली र विपक्षी दलका नेताले देखाएको व्यवहार निकै लज्जास्पद छ । प्रधानमन्त्रीले फेरि आफू राजनीतिक तिकडममा अरु भन्दा आफू नै अघि रहेको देखाउनुभएको छ ।
प्रतिक्रिया