Main News

प्रमुख तीन दलको बैठक सिंहदरबारमा जारी, नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्न जाने तयारी

हिमालय टिभी
२०७८ जेठ ७ गते १५:०३
प्रमुख तीन दलको बैठक सिंहदरबारमा जारी, नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्न जाने तयारी

७ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरेपछि विपक्षी दल छलफलमा व्यस्त छन् ।

यसैक्रममा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक समूहबीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ । त्यसअघि पनि नेताबीच आज द्विपक्षीय र सामूहिक छलफल भएको छ ।

बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा चार दलका नेताको बैठक बसेको छ । बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गर्नुभएको छ । त्यसअघि नै कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउने दाबी पेश गर्ने विपक्षी दलको कसरत छ । यसमा विपक्षी दलले एमालेको नेपाल खनाल समूहको साथ खोजेका छन् ।

नेपाल खनाल समूह पनि छुट्टै छलफलमा व्यस्त छ । समूहका सांसदबीच सिंहदरबारमा छलफल भइरहेको छ । यस्तै माओवादी केन्द्रले सिंहदरवारमै स्थायी समिति बैठक पनि बोलाएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ मा विश्वासको मत प्राप्त गर्ने आधारसहित दाबी पेश गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ ।

यसरी नियुक्त हुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विपक्षी दलले बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *