Main News

३५ जना सङ्क्रमित महिलाले दिए सन्तानलाई जन्म

हिमालय टिभी
२०७८ जेठ ७ गते १३:४०
३५ जना सङ्क्रमित महिलाले दिए सन्तानलाई जन्म

७ जेठ २०७८ काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण भएका ३५ महिलाले सन्तानलाई जन्म दिएका छन् ।

दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ र जेठमा आठ गरी २० महिलाले शल्यक्रियामार्फत सन्तानलाई जन्म दिएको अस्पतालले जनाएको छ । वैशाखमा आठ र जेठमा सात गरी १५ को ‘नर्मल डेलिभरी’ भएको अस्पतालले जनाएको छ ।

बाहिरबाटै कोभिड भएर आएका वा अस्पताल आएपछि पत्ता लागेका महिलालाई अरुबाट छुट्टै राखेर प्रसूति सेवा दिइएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कोभिड भएका महिलालाई सेवा दिनेसँगै उनीहरुबाट अरुलाई सर्न नदिन व्यवस्था मिलाइएको छ ।”

अस्पतालले चार आइसियूसहित ८४ शय्या कोभिड लागेर आउने गर्भवतीका लागि छुट्टाएको छ । अस्पताल आउँदा नै लक्षण देखिएका र शङ्का लागेका बिरामीलाई अरुबाट छुट्टाइने गरिएको उपनिर्देशक अधिकारीले बताउनुभयो । उनीहरु अरुबाट छुट्टाएर राखेर पिसिआर परीक्षण गरेर पोजेटिभ आएमा ‘आइसोलेसन’ शय्यामा राखिन्छ । उहाँले भन्नुभयो, “कसैलाई शुरुमा नदेखिएकालाई अस्पतालमा भर्ना गरिएपछि सङ्क्रमण भएमा पनि पछि आइसोलेनमा राखिन्छ ।”

अस्पतालले थापाथलीस्थित भवन र कुपण्डोलस्थित भवनमा कोभिडका लागि शय्याको व्यवस्था गरेको छ । थापाथलीमा सङ्क्रमित महिलाका लागि पाँच अक्सिजनसहितका शय्या गरी ३० शय्या छुट्टाइएको छ । त्यस्तै कुपण्डोलमा अक्सिजनसहित ५० शय्या (हाइ डिपेन्डेन्सी युनिट) रहेको छ । सो भवनमा आवश्यक चिकित्सकसहित टोलीको व्यवस्था छ । उपचारमा रहेका कुनै पनि बिरामीका लागि चार आइसियू कोभिडलाई छुट्टाइएको छ । सङ्क्रमित गर्भवती महिलालाई प्रसूति सेवाका लागि छुट्टै कोठाको व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “शल्यक्रियाका लागि पनि एउटा भिन्दै कोठा छ ।”

थापाथलीमा सुत्केरी र गर्भवती मात्रै राखिने गरिएको अस्पतालले जनाएको छ । कुपण्डोलस्थित ५० शय्यामा भने गर्भवतीसँगै अरु महिलालाई पनि राख्ने गरिएको अस्पतालले जनाएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत अरु अस्पतालले त्यहाँ शय्या खाली नहुँदा महिलालाई पठाउने गरेको छ ।

अस्पतालमा कुपण्डोलमा १२ र १५ थापाथलीमा गरी अहिले २७ महिला सङ्क्रमित छन् । कोभिड र अरु बिरामीलाई अस्पताल प्रवेश गर्नासाथ ट्रायलबाट छुट्टाउने व्यवस्था मिलाइएको उपनिर्देशक अधिकारीले बताउनुभयो । शङ्का लागेका महिलालाई पिसिआर गरेर पोजिटिभ हुँदा आइसोलेसन र नभएमा सामान्य वार्डमा राखिने उहाँले जानकारी दिनुभयो । कुनै पनि महिला उपचारका लागि अस्पताल प्रवेश गरेपछि उनका परिवारको वा सम्पर्कका व्यक्तिलाई सङ्क्रमण त्यसका आधारमा आवश्यक पर्ने व्यक्तिलाई पिसिआर गरिन्छ ।

पहिले लक्षण नदेखिएका महिलालाई पछि अस्पतालमा रहँदा ज्वरोलगायत कुनै किसिमको स्वास्थ्य समस्या देखिएमा पिसिआर गरेर कोभिड वार्डमा सारिने गरिएको छ । उहाँले भन्नुभयो, “सकेसम्म कोभिडका बिरामीलाई नन कोभिडसँग नजिक गराइँदैन ।”

सबै बिरामी र कुरुवालाई माक्स, भाइजर र दूरी कायम गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । एक तिहाइ कर्मचारी सङ्क्रमित भए पनि सेवामा समस्या नपर्ने गरी व्यवस्था मिलाइएको छ । पहिलो कोभिडमा जसरी अहिले धेरै स्वास्थकर्मीलगायतका कर्मचारी सङ्क्रमित छैनन् ।

स्वास्थ्यकर्मीलगायत कर्मचारी खोपका कारण र अघिल्लो वर्ष काम गरेकाले बढी सजग हुँदा अहिले सङ्क्रमण कम सङ्ख्यामा देखिएको हो । स्वास्थ्यकर्मीले आआफ्नो घरघरमा आफन्त बिरामी भएको देखेकाले पनि सहयोग गर्नुपर्छ भन्ने भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा पनि अहिले काम गर्न सजिलो भएको छ ।”

अस्पतालमा केही समय पहिलेसम्म अक्सिजनको समस्या भए पनि अहिले समाधान हुन थालेको अस्पतालका उपनिर्देशक अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले बिस्तारै आवश्यकताअनुसार सिलिण्डर आउन थालेकाले समस्या समाधान भएको छ । अस्पतालमा अहिले एन–९५ माक्स अभाव हुनथालेको छ । उहाँले भन्नुभयो, “हामीले विभिन्न संस्थासँग पहल गरिरहेका छौँ ।”

बहिरङ्ग सेवासमेत निरन्तर गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा बहिरङ्ग सेवा अवरुद्ध गर्दा आकस्मिक सेवामा बढी चाप हुने भएकाले बहिरङ्ग सेवालाई नियमित गरिएको हो ।

गर्भवती अवस्थामा वा सुत्केरीमा कुनै पनि महिलाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले त्यही समयमा कोभिड हुँदा जोखिम बढ्ने उपनिर्देशक अधिकारीले बताउनुभयो । अनुसन्धानले पनि यो अवस्थामा जोखिम भएकाले अझै बढी ध्यान दिनुपर्ने पाइएको उहाँले बताउनुभयो ।

अरु सङ्क्रमितजस्तै गर्भवतीमा सङ्क्रमण भएमा निमोनिया, सास फेर्न कठिनलगायतका समस्या हुन्छ । आमा कोभिड भएपनि जन्मने बच्चालाई कोभिड हुने सम्भावना कम देखिएको छ । उहाँले भन्नुभयो, “आमा आफैँले बच्चालाई समाउँदा ख्याल गरेन भने मात्रै सर्नसक्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *