Main News

महोत्तरीको एउटै गाउँमा १५ दिनमा १३ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ७ गते १३:३३
महोत्तरीको एउटै गाउँमा १५ दिनमा १३ जनाको मृत्यु

७ जेठ २०७८ महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन ।

चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् ।

रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताउनुभयो । “बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पु-याएका थिए, अरु घरमै मरे” दाहालले भन्नुभयो, “अस्पताल पु-याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन ।”

महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताउनुभयो । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उहाँको भनाइ छ । कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउनुहुन्छ ।

आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउनुहुन्छ । बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिनुभयो ।

“पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं” वडाअध्यक्ष महतोले भन्नुभयो, “सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिदा ढिलाइ भएको हो ।” अब बस्तीस्तरमै पिसिआर परीक्षणका लागि स्वाव सङ्कलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताउनुभयो ।

जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड—१९ सङ्क्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो । त्यसयता आज (शुक्रबार) बिहान ७ बजेसम्म जम्मा ४१ जनाको सङ्क्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा यसपालि एक हजार ५३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यीमध्ये एक हजार ३८२ जनामा सक्रिय सङ्क्रमण रहेको कार्यालयका कोभिड—१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो । यसपालि ११५ जनाले सङ्क्रमण जितेका छन् ।

गतवर्ष वैशाखदेखि कात्तिकसम्म १८ जनाको सङ्क्रमणले मृत्यु भएको थियो भने दुई हजार १४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गतवर्ष सक्रिय सङ्क्रमितको सङ्ख्या भने ९०० को हाराहारीमा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *