Main News

सबैभन्दा धेरै भोट भएको एमालेका उम्मेद्वारलाई कसरी हराए खिमलालले ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ७ गते ६:५५
सबैभन्दा धेरै भोट भएको एमालेका उम्मेद्वारलाई कसरी हराए खिमलालले ? (भिडियो रिपोर्टसहित)

७ जेठ २०७८ काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ। उहाँले ५ हजार ८८ मतभार पाउनु भयो । उहाँका निकटम प्रतिद्वन्द्वी गृहमन्त्री थापाले ४ हजार १४ मत प्राप्त गर्नुभयो । नेमकिपाका कृष्णबहादुर तामाङ्गले १ सय ३२ मतभार प्राप्त गर्नु भयो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट डाक्टर खिमलाल देवकोटालाई नेपालले नै उम्मेद्वार बनाउनु भएको थियो । र देवकोटालाई एमालेको नेपाल–खनाल समूहसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन दिएको थियो ।

देवकोटा नेपाल(खनाल समूहसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका मतदाताको भोटले राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभयो । यो चुनावमा बागमती प्रदेशसभामा नेकपा एमालेका सबैले बादललाई भोट हालेनन । प्रदेश सभामा एमाले एक्लैको ५७ मत भए पनि एमाले उम्मेदवार रामबहादुर थापा बादलले ४५ मत मात्र पाउनु भयो ।

प्रदेश सभा सदस्यतर्फ २ जना मतदाता रहेको राप्रपाले समेत बादललाई समर्थन गरेको थियो । जसअनुसार बादललाई एमालेका ४३ जना प्रदेश सभा सदस्यले मतदान गरे । १३ जना एमालेका प्रदेश सभा सदस्यले भने डाक्टर देवकोटालाई भोट दिए ।

नेकपा एमालेको ओली पक्ष र नेपाल खनाल समूह पक्षबिचको विवाद समाधानको दिशामा अघि नबढेको भए देवकोटालाई मतदान गर्ने एमालेका अझै बढी हुने थिए । किन कि देवकोटा एमाले वरिष्ठ नेता नेपाल निकट हुनुहुन्छ र उहाँलाई नेपालले नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसित मिलेर उम्मेद्वार बनाउनुभएको थियो ।

त्यसैले यहाँ प्रदेश सभामा रहेका नेपाल–खनाल पक्षका २१ जनाले नै देवकोटालाई मत हाल्ने अनुमान थियो । जबकी यहाँ नेकपा एमालेको संस्थापन पक्षका ३५ जना थिए । तर पनि बादलले पाएको मतका आधारमा ओली समूह नेपाल पक्षका ८ जना सदस्य आफूतिर तान्न सफल भयो ।

स्थानीय तहका मेयर उपमेयर र अध्यक्ष उपाध्यक्ष पनि मतदाता थिए । जस अनुसार बागमती प्रदेशका स्थानीय तहमा एमालेका १ सय ३३ जना मतदाता थिए । ती मध्ये १ सय १ जनाको मत मात्र बादलले पाउनु भएको छ । बादलले राप्रपाका २ सहित स्थानीय तहबाट १ सय ३ मत पाउनुभयो ।

यो राष्ट्रिय सभा चुनावका मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो । यस्तै विवेकशील साझा पार्टीका ३ जनाले नो भोट भन्दै मतदान बहिस्कार गरे ।अरु ६ जना भोट हाल्न आएनन ।

यो चुनावी नतिजाले बादल पराजित भए पनि यसले नेकपा एमालेको ओली समूह र नेपाल(खनाल समूहबिचको तिक्तता अझै बढ्ने देखिएको छ । किन कि एमालेको सूर्य चिन्हमा मतदान नगर्ने एमाले नै हुन नसक्ने भन्दै डाक्टर देवकोटलाई भोट हाल्नेलाई संस्थापन पक्षले कडा कारबाही गर्ने संकेत गरेको थियो ।

तर चुनाव चलिरहँदा बसेको एमाले स्थायी कमिटि बैठकले कारबाहीकै निर्णय नगरे पनि सूर्य चिन्हबाट चुनाव जितेका बागमती प्रदेशसभा सदस्य र स्थानीय तहका मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षले राष्ट्रिय सभा सदस्यको चुनावमा सूर्य चिन्हमा मतदान नगरेको ठहर गरेको छ । र एमालेले गम्भीर भनेको छ ।

यो चुनावी नतिजाबाट एमालेको नेपालखनाल समूहले बादललाई हराएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो धक्का दिएको छ । पार्टी विभाजनको अवस्थामा पुगेर मिलाउनका लागि कार्यदल बनेर काम थालेको अवस्थामा नेपाल खनाल समूहको यो धक्काको प्रत्यूतर ओलीले कसरी दिनुहुन्छ । हेर्न बाँकी छ । किनकी चुप लागेर बस्ने होईन, मौकाको खोजी गर्ने ओलीको स्वभाव छ ।

७ जना मन्त्रीको नियुक्ती बदर गर्ने सर्वोच्च अदालतको आदेशप्रति सरकारको प्रतिक्रिया आएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बालुवाटरामा पत्रकारसित कुरा गर्दै अदालतले दिएको आदेश कार्यान्वयन हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *