Main News

मौन अवधिमा मत मागेकोमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण

हिमालय टिभी
२०७८ जेठ ५ गते १८:५४

५ जेठ २०७८ काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापालाई भोट दिनू भनेर अपील सार्वजनिक गरेपछि आयोगको प्रतिक्रिया आएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति निकालेर यसलाई आचार संहिता विपरित भन्नुभएको छ । आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गरिएको भन्दै यसमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आचार संहितको उल्लंघन स्वीकार्य नहुने भन्दै आयोगले आचार संहिता उल्लंघन गर्नेहरुको अभिलेख राखेर कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री ओली विरुद्ध उजुरी परेमा आयोगले जाँचबुझ गरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगको भनाइ छ ।

आयोगले निर्वाचन आचार संहिता कानूनी आधार र नैतिक बन्धन पनि भएकोले पालना गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *