कोरोनाबाट थप २४६ जनाको मृत्यु, ८ हजार १ सय ७३ संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ सय ४६ जनाको मृत्यु भएको छ । यो संख्या महामारी शुरु भएयतकै सबै भन्दा धेरै हो । कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।
पछिल्लो पटक ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा ८ हजार ६४ र एन्टिजेन परीक्षणमा १ सय ९ जनामा संक्रमण भेटिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ९ सय ८८ , भक्तपुरमा २ सय २८ र ललितपुरमा २ सय ७० जना कोरोनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
काठमाडौं बाहिर झापामा ३४४, मोरङमा ३८३ संक्रमण भेटिएको छ । त्यस्तै कास्कीमा ३४७, सुर्खेतमा २७४ र कैलालीमा ४१७ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार देशभरका ७७ जिल्लामध्ये ४३ वटा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या ५७ पुगेको छ । हाल देशमा १ लाख १४ हजार ३ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।
हाल १६ सय १८ जनाको आइसीयू र ३ सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया