Main News

अरब सागरमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि, भारी वर्षाको चेतावनी

हिमालय टिभी
२०७८ जेठ ५ गते ७:५७
अरब सागरमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि, भारी वर्षाको चेतावनी

५ जेठ २०७८ काठमाडौं । अरब सागरमा बनेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा पनि भारी वर्षाको चेतावनी जारी भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका साथै ताउते चक्रवातको प्रभावले केही दिनदेखि मौसम बदली हुनुका साथै अहिले विभिन्न स्थानमा पानी परिरहेको छ ।

सामान्यदेखि पूर्ण बदली हुनुका साथै पानी पर्ने क्रम अझै केही दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश १ र प्रदेश २ मा आंशिक तथा अन्य स्थानमा सामान्यदेखि पूर्णसम्म बदली हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। पानी पर्ने क्रम भोलि अझै बढ्ने छ ।

आज दिउँसो तथा राति अधिकांश स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ ।

त्यस्तै दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी लगायत प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने अनुमान छ ।

त्यस्तै हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात र वर्षाको पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाले आज विहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

भारी वर्षाका कारण खोलानालामा पानीको बहाव बढ्ने भन्दै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *