Main News

लुम्बिनी प्रदेशका प्रमुखद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

हिमालय टिभी
२०७८ जेठ ४ गते १९:०४
लुम्बिनी प्रदेशका प्रमुखद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

४ जेठ २०७८ बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने भन्दै संसदको विशेष अधिवेशन बोलाउन अस्वीकार गर्नुभएको छ ।

विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै पत्र दिएपछि प्रदेश प्रमुख यादवले सभामुखलाई पत्र लेखी अविश्वास प्रस्तावमाथि छलफल गर्न संविधानअनुसार नमिल्ने जिकिर गर्नुभएको छ ।

संविधानको धारा १ सय ८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम अधिवेशन बोलाउने अवस्था नरहेको प्रदेश प्रमुख यादवको तर्क छ । संविधानको धारा १ सय ८८ को उपधारा ४ मा प्रतिबन्धात्मक वाक्यांशमा मुख्यमन्त्रीविरुद्ध पहिलो २ वर्ष र एक पटक राखेको अविश्वास प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वास प्रस्ताव पेश गर्न नमिल्ने व्यवस्था छ ।

गत वैशाख २६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव टुंगो नलाग्दै विशेष अधिवेशन अन्त्य गरिएको भन्दै पुनः विशेष अधिवेशन माग गरेका थिए । तर प्रदेश प्रमुखले भने अविश्वास प्रस्ताव असफल भइसकेको भनी प्रदेशसभालाई पत्र लेख्नुभएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावको सामना नगरी राजिनामा दिएर संसदको अधिवेशन अन्त्य गरी फेरि नियुक्ति लिनुभएको थियो । विपक्षी दलले शपथ नगराउन माग गरेपनि प्रदेश प्रमुखले मुख्यमन्त्रीको कार्यालयमै पुगेर शपथ गराउनुभएको थियो ।

प्रदेश प्रमुखको यो कदमको चर्को आलोचना भएको थियो । र, अहिले पनि फेरि मुख्यमन्त्रीलाई सहयोग पुग्ने गरी काम गरेको भनेर आलोचना हुन थालेको छ ।

विशेष अधिवेशन माग गर्दा ७९ सदस्यीय रहेको प्रदेश सभामा विपक्षी गठवन्धनमा ४१ र सरकारको पक्षमा ३८ सांसद थिए । तर हिजो मात्रै सर्वोच्च अदालतले जनता समाजवादी पार्टीबाट मन्त्री बनेका चार जनालाई सांसद पदबाट मुक्त नगर्न अन्तरिम आदेश दिएसँगै सरकारको पक्षमा बहुमत पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *