राजनीति

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ४ गते १८:५१
एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह (भिडियो रिपोर्टसहित)

४ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ ।

कार्यदलको पहिलो बैठकले एकता कमजोर हुने र एकापसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको कार्यदलमा रहेका नेताहरुले बताएका छन् ।

नेता भीम रावल र प्रदीप ज्ञवालीले एकै स्वरमा एकताको सन्देश दिने गरी कार्यदलले काम थालेको र सहयोगको अपेक्षासहित अपील गरेको जानकारी दिनुभयो ।

बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिनुभयो ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ ।

नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ । काम विशेषले गर्दा आजको बैठकमा नेता पोखरेल र पौडेल सहभागी हुन नसकेको रावलले जानकारी दिनुभयो ।

बैठक बुधबार पनि बस्नेछ । पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउने उपाय र एमाले प्रवेश गरेका माओवादी नेताहरुको व्यवस्थापनलाई केन्द्रमा राखेर समाधान खोज्न कार्यदलले काम गर्नेछ ।

पार्टी विभाजनकै अवस्थामा पुगेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता गरी समस्या समाधान गर्न कार्यदल बनाउनुभएको थियो ।

नेपालले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउनुपर्ने माग गर्दै आएपनि ओलीले अस्वीकार गर्दै आउनुभएको थियो । विवाद बढेर नेपाल खनाल पक्षले संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्