Main News

भारतले कोरोनाविरुद्धको खोप आगामी अक्टोबरसम्म विदेश निर्यात नगर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ४ गते १८:३२
भारतले कोरोनाविरुद्धको खोप आगामी अक्टोबरसम्म विदेश निर्यात नगर्ने (भिडियो रिपोर्टसहित)

४ जेठ २०७८ नयाँ दिल्ली । भारतले आगामी अक्टोबरअघि कोरोना भाइरसविरुद्धको खोप विदेश निर्यात नगर्ने भएको छ ।

स्वदेशको मागलाई मध्यनजर गर्दै भारतले यो निर्णय गरेको रोयटर्सले जनाएको छ । भारतको यो कदमले कोभ्याक्स संजालअन्तर्गत हुने भनिएको विश्वव्यापी खोप आपूर्ति प्रभावित हुने देखिएको छ ।

खरिदका लागि अग्रिम भुक्तानी दिइसकेका नेपाल, बंगलादेश र श्रीलंकाजस्ता मुलुकहरुलाई थप समस्या पर्ने देखिएको छ । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुकले आपूर्तिमा ढिलाइ गर्ने भएपछि नेपालसहितका अन्य मुलुकले लामै समय कुर्नुपर्ने देखिएको छ ।

देशभित्रै संक्रमण र मृत्युको अवस्था भयावह बनेपछि भारतले गतमहिना खोप आपूर्ति रोकेको थियो । त्यसअघि उसले ६६ मिलियन डोज विश्वव्यापी वितरण गरिसकेको थियो ।

नेपालले पनि भारतबाट २० लाख डोज ल्याएर खोप अभियान चलाएको थियो । नेपालले बाँकी १० लाख डोज कोभिसिल्ड खोप पाउन बाँकी छ । भारतले खोप निर्यात तत्काल नगर्ने भएपछि कोभ्याक्सले अन्य खोप उत्पादक मुलुकहरुलाई खोप आपूर्ति गर्न आग्रह गरेको छ ।

खोप निर्यात र आपूर्तिको जिम्मा पाएको भारतीय विदेश मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । सिरम इन्स्टिच्युटका प्रवक्ताले भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने भएपछि विदेशका लागि तत्काल खोप आपूर्ति नहुने बताएका छन् ।

नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत खोप आउने आशा थियो तर, कोभ्याक्सलाई पनि सिरमले नै दिने भएपछि त्यस च्यानलबाट खोप तत्काल आउने आशा टरेको छ ।

कोभ्याक्सले सिरमसँग १.१ बिलियन डोज अस्ट्राजेनेका खोपको सम्झौता गरेको थियो ।राष्ट्रसंघीय नियोग युनिसेफले सोमबार जी–सातको बैठकअघि ती मुलुकलाई कोभ्याक्समा खोप आपूर्ति गर्न आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशले थप २० लाख डोज मोर्डना, फाइजर र जोन्सन एन्ड जोन्सनको खोप निर्यात गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *