Main News

शपथ ग्रहण बदर र मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै परेका रिटमा आज सुनुवाइ

हिमालय टिभी
२०७८ जेठ ४ गते १३:११
शपथ ग्रहण बदर र मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै परेका रिटमा आज सुनुवाइ

४ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण हुनुपर्ने र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा परेका रिटसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा हुने भएको छ ।

प्रधानन्यायाधीश जबराको इजलासमा रिटको पेशी तोकिएको छ । ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शपथको व्यहोराअनुसार शपथ लिनुभएको थिएन ।

राष्ट्रपतिले ‘प्रतिज्ञा गर्छु’ भनेर दोहोर्याउँदा पनि प्रधानमन्त्री ओलीले उच्चारण गर्न नमानी ‘त्यो पर्दैन’ भन्नुभएको थियो । प्रधानमन्त्रीबाट संविधानको उल्लंघन भएको, राष्ट्रपति र राष्ट्रपति संस्थाको मर्यादामाथि आँच पुगेको भन्दै सर्वोच्च अदालतमा सोमबार ४ रिट वटा दायर गरिएको छ ।

जसमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।

त्यस्तै सांसद नरहेका सात मन्त्रीलाई पदमुक्त गर्न पनि रिट निवेदनमा माग गरिएको छ ।

गैरसांसदका रूपमा एकपटक मात्रै मन्त्री हुन पाउने भए पनि प्रधानमन्त्री ओलीले सात जना गैरसांसदलाई दोहोर्‍याएर मन्त्री बनाएको भन्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने माग गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई पदमुक्त गर्न माग गरिएको छ ।

ती रिट निवेदनमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *