Main News

गङ्गोत्पत्ति (गङ्गा सप्तमी) पर्व मनाइँदै

हिमालय टिभी
२०७८ जेठ ४ गते ९:२१
गङ्गोत्पत्ति (गङ्गा सप्तमी) पर्व मनाइँदै

४ जेठ २०७८ काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

द्वापर युगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उनका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ ।

वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट पृथ्वीमा गङ्गा अवतरण गराइएकाले यस दिनलाई गङ्गोत्पत्ति पर्वका रूपमा मनाउन थालिएको हो । स्वर्गबाट गङ्गा अवतरण गराउने क्रममा पृथ्वी भासिने डरले महादेवले आफ्नो जटामा थापेको पौराणिक मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

गङ्गा सागरमा मिसिएपछि यसको नाम गङ्गासागर हुन्छ । राजा भगीरथले ठूलो प्रयत्न गरेर गङ्गालाई पृथ्वीमा अवतरण गराएकाले भागीरथी नामले पनि गङ्गालाई पुकारिन्छ । गङ्गा सप्तमीसँग सम्बन्धित नभए पनि यस दिनलाई बीचमा पारी वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म गरिने वाग्मती तीर्थ यात्रा यस वर्ष पनि स्थगित गरिएको पशुपतिनाथ आगमघरका पुजारी महेश भट्टले बताउनुभयो ।

गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो । यस वर्ष पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण तीर्थयात्रा स्थगित गरिएको छ । नदीको पूजा आराधनाको विधि भने भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गरिने जनाइएको छ ।

बन्दाबन्दीका कारण तीर्थयात्रा स्थगित गरिए पनि वाग्मतीको आराधना एवं पूजा गर्ने विधिलाई भने यथावत् रूपमा निरन्तरता दिइएको उहाँले बताउनुभयो । वाग्मती जस्तै विभिन्न स्थानमा रहेका नारायणी, गण्डकी, कोशी, कर्णालीलगायत नदीमा पनि पूजा आराधना गरी गङ्गा सप्तमी पर्व मनाइन्छ ।

वैदिक सनातन धर्मावलम्बीले गङ्गालाई पवित्र नदीका रूपमा पू्जा आराधना गर्छन् । हरेक नदी, पोखरी, ताल, तलाउमा रहेको पानीलाई गङ्गाकै रूप मानी प्रत्येक दिन बिहान ‘गङ्गे च यमुने चैव गोदावरी सरस्वती’ मन्त्रले गङ्गा आदि नदीको प्रार्थनासहित स्नान गर्ने विधि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *