सरकारको लापरवाहीका कारण धेरैले ज्यान गुमाउनु परेको चिकित्सक दासको आरोप (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका चिकित्सक एवं कोभिड व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले सरकारको लापरवाहीका कारण धेरै नेपालीले ज्याज गुमाउनु परेको बताउनु भएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै डा दासले अक्सिजन सिलिण्डरमा लगाइएको कोटा प्रणालीका कारण धेरैको ज्यान जोगाउन नसकिएको बताउनुभयो । कोटा प्रणालीका कारण पहुँचवाला मान्छेको घरमा अक्सिजन सिलिण्डर थुप्रो लागेको तर गम्भीर प्रकृतिका बिरामीले पाउन नसकेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्र नबुझेको व्यक्ति मन्त्री हुँदा पनि समस्या आएको उहाँको भनाइ छ । उहाँले धेरै ठूला कुरा नगरी स्वास्थ्य मन्त्रीले अक्सिजन व्यवस्थापन मात्र गरिदिए पुग्ने बताउनुभयो ।
शिक्षण अस्पतालसहित १० वटा संस्था कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि अनुमति माग्दा पनि सरकारले स्वीकृति नदिएको उहाँको भनाइ छ ।
अबको एक हप्ता संक्रमण उच्च विन्दुमा पुगेर घट्न थाल्ने भएकाले कम्तिमा त्यो समयसम्मका लागि सतर्क रहन उहाँले सबैलाई अपिल गर्नुभयो ।
अहिले उत्पादन गर्न लागिएको अक्सिजन प्लान्टले अहिले नै काम नगरेपनि तेस्रो लहरका लागि काम गर्ने डा दासले बताउनुभयो । तेस्रो लहर दोस्रो जति खतरनाक नहुने पनि उहाँको भनाइ छ ।
प्रतिक्रिया