कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो, आज १४५ जनाको मृत्यु
२ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । आज थप १ सय ४५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ हजार १ पुगेको छ ।
पछिल्लो पटक ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१९ हजार ५ सय ३९ जनाको पीसीआर परीक्षणका क्रममा ७ हजार ३ सय १६ र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी कुल ७ हजार ३ सय ६८ जनामा संक्रमण देखिएको हो ।
योसहित कुल संक्रमितको संख्या चार लाख ५५ हजार २० पुगेको छ । आज काठमाडौं उपत्यकामा २ हजार ६ सय ९ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा १८ सय ८१ जना, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जनामा संक्रमण देखिएको छ ।
उपत्यका बाहिर कैलालीमा ५ सय २५, रुपन्देहीमा ४ सय, मोरङमा ३ सय ५२ र दाङमा २ सय १९ जनामा संक्रमण देखिएको छ ।
आजसम्म देशभर १ लाख १० हजार सक्रिय संक्रमित रहेकोमा १ लाख २ हजार ४ सय ४५ जना होम आइशोलेशनमा छन् । ७ हजार ३ सय १६ जना संस्थागत आइशोलनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भयो ।
अहिले देशभरका अस्पतालमा १ हजार ३ सय १३ जनाको आइसीयू र ३ सय ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक ६ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया