Main News

प्रधानमन्त्रीको झापा मोह : योग्य मान्छे झापामा मात्रै छन् र ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते २१:०१
प्रधानमन्त्रीको झापा मोह : योग्य मान्छे झापामा मात्रै छन् र ? (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौंं । सरकारले नियुक्त गर्ने महत्त्वपूर्ण पदमा प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका व्यक्तिले प्राथमिकता पाउने गरेका छन् । विश्वविद्यालयका उपकुलपतिदेखि संवैधािनक निकाय र राजदूतमा समेत झापाका व्यक्तिले मौका पाउने गरेको देखिन्छ ।

सरकारले नियुक्ति लागि सिफारिस गरेका ११ देशका राजदूतमध्ये तीन जना झापाका छन्। सरकारले म्यान्मारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की र डेनमार्कका लागि सुमित्रा भण्डारीलाई राजदूत सिफारिस गरेको छ । पछिल्लो पटक राजदूतमा नियुक्ती पाउने ११ जनाको मात्र हिसाब गर्ने हो भने यो ३० प्रतिशत हो ।

ओली नेतृत्वको सरकारले गर्ने सबै जसो राजनीतिक नियुक्तीमा झापाका बासिन्दानै प्रधानमन्त्रीको रोजाइमा पर्ने गरेका छन् ।
वैशाख २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरेका माधवप्रसाद रेग्मी पनि झापाकै हुनुहुन्छ ।

वैशाख २३ गते प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा डा. कृष्णप्रसाद ओलीलाई मनोनीत गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका ओली झापाकै हुनुहुन्छ । त्यसैले बनमन्त्री प्रेमबहादुर आलेलाई पन्छाएर प्रधानमन्त्रीले उहाँलाइ मनोनयन गर्नुभयो

त्यसअघि वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले झापाकै जानुका ढकाललाई उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गर्‍यो । पत्रकार ढकाल योजनाविद् र विकासविज्ञ हुनुहुन्न ।

उपत्यका विकास प्राधिकरण ऐनले नेपाल सरकारको विशिष्ट श्रेणी वा सोभन्दा माथिल्लो पदमा बसेर काम गरेको वा सम्बन्धित क्षेत्रको लब्धप्रतिष्ठित व्यक्ति आयुक्त हुने भने पनि प्रधानमन्त्री ओलीले गरेको यो नियुक्तीमा ऐनकानुन नै मिचियो ।

यसअघि गत फागुनमा झापाकै बमबहादुर मिश्र र डाक्टर नीलम तिम्सिनालाई डेपुटी गभर्नर पदमा नियुक्त गरियो । गत कात्तिकमा सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा झापा गौरादहका डाक्टर धर्मकान्त बाँस्कोटालाई नियुक्ति दिएको थियो । पार्टीभित्र पटकपटक विरोध हुँदा पनि डाक्टर युवराज खतिवडालाई सबैसित लडेर राष्ट्रिय सभा सदस्य, अर्थमन्त्री, आप्नो आर्थिक सल्लाहकार र अमेरिकाको राजदूत बनाउनुभयो ।

यी त पछिल्ला केही राजनीतिक नियुक्ति भए । पहिलेदेखिनै प्रधानमन्त्रीको गृहजिल्ला मोह प्रकट भएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पनि झापाका हुनुहुन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा दोहोरिएका गंगाप्रसाद उप्रेती, साझा प्रकाशनका महाप्रबन्धक होमप्रसाद गौतम पनि झापाकै हुनुहुन्छ । ओली नेतृत्वको सरकारले नियुक्ति दिएका यी केही उदाहरणबाट राजनीतिक नियुक्तिमा प्रधानमन्त्रीकै गृह जिल्ला मोह प्रष्ट हुन्छ ।

यसरी नियुक्ति पाउनेमा केही योग्य भए पनि अधिकांशको योग्यतामाथि प्रश्न पनि उठ्ने गरेको छ । यसमा कतिपय साना नियुक्तिको हिसाब छैन । ०६८ सालको जनगणना अनुसार झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० छ । बाँकी २ करोड ५७ लाख जनसंख्यालाई वेवास्ता गरेर झापालाइ मात्रै प्रधानमन्त्रीले प्राथमिकता दिनु बिडम्बना हो । प्रधानमन्त्री ओलीको गृह जिल्ला मोहले अन्य जिल्लाका क्षमतावान् र योग्यव्यक्ति पछाडी परेका छन् ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *