Main News

अक्सिजनको हाहाकार, आफन्त लाइनमा, बिरामी धमाधम ज्यान गुमाउँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते १४:३८
अक्सिजनको हाहाकार, आफन्त लाइनमा, बिरामी धमाधम ज्यान गुमाउँदै (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । अक्सिजनको अभावले कोरोना संक्रमितको मृत्यु नै हुन थालेको छ । संक्रमितका आफन्त अक्सिजन खोज्दै सिलिन्डर बोकेर उद्योग उद्योग धाउन बाध्य छन् । तर पनि उनीहरुले अक्सिजन पाएका छैनन् । यस्तै अवस्था छ सुदूरपश्चिमको राजधानी धनगढीमा पनि ।

यो धनगढीको मालिका अक्सिजन उद्योगको दृश्य हो । यो उद्योगमा अक्सिजन खोज्दै संक्रमितका आफन्तहरु पुगिरहेका छन् ।

उनीहरु अक्सिजनका लागि घन्टौँ लाइनमा छन् । तर पनि अक्सिजन पाउन सकेका छैनन् ।

धनगढीको सेति प्रादेशिक अस्पताल धनगढीमा रहेको अक्सिजन प्लान्टबाट थोरै मात्र अक्सिजन उत्पादन हुन्छ । तर अस्पतालमा अक्सिजन दिनु पर्ने बिरामी धेरै छन् ।

त्यसैले अस्पतालले बाहिरबाट सिलिन्डरमा अक्सिजन ल्याएर विरामीको उपचार गरिरहेको छ । तर अहिले देशभर नै अक्सिजनको अभाव भएकाले अक्सिजन पाउन मुस्किल छ । अक्सिजनको अभावमा बिरामीले ज्यानै गुमाउनु पर्ने अवस्था छ । त्यसैले संक्रमितका आफन्त आक्रोशित छन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको मालिका अक्सिजन उद्योगको अक्सिजन प्लान्टमा पटक(पटक समस्या आएकाले उसको उत्पादन घटेको छ । दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता भए पनि यसले अहिले क्षमता अनुसार उत्पादन गरेको छैन । यसले थप समस्या भएको छ ।

अस्पताल कोरोना संक्रमितले भरिएको छ । वार्ड बाहेक अस्पतालका प्यासेज र कतिपय ठाउँमा त बाहिरै राखेर पनि संक्रमितको उपचार गर्नु परेको छ । जसले गर्दा एक जना बिरामीलाई एउटा सिलिन्डर नै दिनु पर्ने बाध्यता छ । त्यसले पनि अक्सिजनको माग बढाएको छ तर आपूर्ति हुन निकै कठिन परिरहेको छ ।

एकातिर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने अर्का तिर अक्सिजनको कमी हुँदा संक्रिमतको उपचारमा समस्या छ । र संक्रमित झनै जोखिममा परेका छन् ।

अक्सिजन उपलब्ध भएमा अधिकांश विरामीलाई बचाउन सकिने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । त्यसैले सरकारले जसरी हुन्छ अस्पतालाई माग अनुसार अक्सिजन उपलब्ध गराउन आवश्यक छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *