Main News

आज सांकेतिक रुपमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने

हिमालय टिभी
२०७८ जेठ १ गते १३:३२
आज सांकेतिक रुपमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने

१ जेठ २०७८ काठमाडौं । ललितपुरमा आज सांकेतिक रुपमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने भएको छ ।

कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभयो ।

आज करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गर्ने तयारी गरिएको महर्जनले जानकारी दिनुभयो ।

सरोकारवालाको हिजो बसेको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।

गत वर्ष कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन । ढिला गरी भएको रथयात्राको क्रममा प्रशासन र स्थानीयबासिन्दाबीच झडप समेत भएको थियो । तर यो वर्ष समयमा नै सरोकारवाला पक्षसँगको छलफलपछि रथयात्राको मिति तय भएकोले कुनै समस्या नभएको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

वैशाख पूर्णिमाको भोलिपल्ट हुने महास्नानसँगै सुरु भएको रथ यात्रा असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । रातो मत्स्येन्द्रनाथको राथ यात्रा करिब एक हजार ६ सय वर्ष पुरानो मानिन्छ । दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने गरिएको छ ।

रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने परम्परा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *