Main News

प्रम ओलीको संविधानमाथि मजाक,फेरि थोकमा गैरसांसद बने मन्त्री (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते ६:५६
प्रम ओलीको संविधानमाथि मजाक,फेरि थोकमा गैरसांसद बने मन्त्री (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । संविधानको धारा ७८ को उपधारा (१) ले गैरसांसदलाई मन्त्री नियुक्त हुन सक्ने अधिकार दिएको छ । त्यसैले गैर सांसद मन्त्री बन्न र बनाउन नपाइने भन्ने होइन । तर उनीहरु ६ महिनाभित्र संघीय संसदको सदस्य बनिसक्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको यही व्यवस्था टेकेर गैर सांसदलाई मन्त्री बनाउनुभएको छ, त्यो पनि थोरै होइन, एकै चोटी सात जनालाई अर्थात २५ सदस्यीय मन्त्रिपरिषदमा सात जना गैर सांसद छन, जसलाई संसदले चिन्दैन ।

प्रधानमन्त्रीले शुक्रबार मन्त्री बनाएका रामबहादुर थापा, टोपबहादु रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङ संसदमा हुनुहुन्न । तर तत्कालीन नेकपा विभाजन भएपछि एमालेमा लागेका यी नेतालाई प्रधानमन्त्रीले मन्त्री बनाएरै बोकेर हिंड्नुभएको छ ।

र, पछिल्लो पाँच महिनामा गैर सांसदलाई मन्त्री बनाउने काम प्रधानमन्त्रीले पटकपटक गर्नुभएको छ । जुन संविधानको दुरुपयोग भएको संविधानविद्को ठहर छ ।

संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले पुस १० गते तत्कालीन माओवादी नेता मणिचन्द्र थापालाई खानेपानी र दावा लामा तामाङलाई खेलकूदमन्त्री बनाउनुभयो । लामा त चुनावमा हारेको व्यक्ति हुनुहुन्थ्यो । संसद विघटन गरेका प्रधानमन्त्रीले थापा र लामालाई सिंहदरबार पुर्याउनुभयो । प्रधानमन्त्री ओली यतिमै रोकिनुभएन ।

माओवादी केन्द्रले हटाएपछि सांसदबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट,गौरीशंकर चौधरीलाई फेरि मन्त्री बनाउनुभयो । गैर सांसदलाई मन्त्री बनाउन पाउने व्यवस्थामा टेकेर प्रधानमन्त्रीले थोकमै मन्त्री नियुक्त गर्नुभयो ।

प्रधानमन्त्रीलाई आलोचनाले छोएन, संवैधानिक व्यवस्थाको दुरुपयोग गर्दै राजनीतिक गुन तिर लाग्नुभयो । र, माओवादी केन्द्रले हटाएपछि पदमुक्त भएका गृहमन्त्री थापालाई पूनर्नियुक्ति गर्नुभयो ।

शुक्रबार थोकमा गैरसांसदलाई मन्त्री बनाउने कदम पनि त्यसैको निरन्तरता हो । प्रधानमन्त्री संविधानभन्दा पनि आफूले गरेको सबै ठीक भन्ने निरकुंशताको यात्रामा हुनुहुन्छ ।

प्रधानमन्त्री ओली तेस्रो कार्यकालका लागि सत्तामा आउनुभएको छ । तर उहाँका गतिविधि संसद र संविधानको मानमर्दन गर्नमै उद्दत छन । र, त्यसबाट उहाँ पछि हट्नुहुन्न भन्ने थप पुष्टि भएको छ । प्रधानमन्त्रीलाई विधि विधानको कुनै मतलब छैन, राजनीतिक स्वार्थ नै उहाँका लागि सर्वोपरि हो भन्ने लागेको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *