राजनीति

नयाँ सरकारको कसरत: जसपा दुई समूह बनेपछि विपक्षलाई एमाले विभाजनको आश

हिमालय टिभी
२०७८ वैशाख २९ गते ६:२९
नयाँ सरकारको कसरत: जसपा दुई समूह बनेपछि विपक्षलाई एमाले विभाजनको आश

२९ वैशाख २०७८ काठमाडौं । दुई वा त्यो भन्दा बढी दलको संयुक्त सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिने समयसीमा पर्सी विहिबार सकिदैछ । यो बीचमा नयाँ सरकार बन्ने नबन्ने अझै स्पष्ट भएको छैन । नयाँ सरकार बन्न नसके केपी शर्मा ओली नै ठुलो दलको हैसियतमा फेरि प्रधानमन्त्री बन्नुहुनेछ । अब संयुक्त सरकार बन्ने नबन्ने सत्तारुढ नेकपा एमालेको नेपाल खनाल समूहमा निर्भर देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार बनाउन तीन दिन दिनुभएको छ । तर दलहरुबीच पहिलो दिन छलफल हेर्दा सहजै नयाँ सरकार बन्ने अवस्था देखिन्न्। प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक विश्वासको मत लिने घोषणा गर्दा नै अन्य दलले शंकाको नजरले हेरेका थिए ।

पदमा टिकिरहन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा गरेका काम हेर्दा सहजै पद छाड्ने संभावना थिएन । अहिले अवस्था त्यस्तै देखिदैछ । नयाँ सत्ता समिकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टीको एउटा पक्षलाई हातमा लिएर प्रधानमन्त्री ओलीले सत्ता जोगाउने र सकेसम्म संसद विघटन गरी चुनावमा जाने रणनीति अख्तियार गरेको स्पष्ट हुँदै गएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला तटस्थ बसेको जसपाको महन्थ ठाकुर पक्षले लगत्तै नयाँ सरकार बनाउन नलाग्ने घोषणा नै गरेको छ ।

यसबाट सिंगो जसपासहितको समिकरण बन्ने संभावना सकिएको छ । प्रधानमन्त्री ओली निकट नेताले नयाँ सरकार कुनै हालतमा नबन्ने दावी गर्नुका पछाडी पनि यही भित्री गठबन्धनले काम गरेको छ । ठुलो दलको नेताका हैसियतमा ओली नै प्रधानमन्त्री हुने र त्यसले एक महिनामा विश्वासको मत पाउन नसकेपछि मुलुक चुनावमा जाने यो समूहको दाबी छ ।

नयाँ सरकारको समीकरण
प्रधानमन्त्री ओलीलाई विश्वास छ भन्ने पक्षमा ९३ सांसदको मात्रै मत परेको छ । तर विपक्षमा पनि बहुमत देखिएको छैन । विश्वासको मतका विपक्षमा १ सय २४ मत छ । जबकि नयाँ सरकार बनाउन १ सय ३६ सिट आवश्यक पर्छ । सोमबारको मतदानमा अनुपस्थित ३४ सांसद मध्ये २८ जना एमालेको नेपाल खनाल समूहका हुन् । नेपाल खनाल समूह बाहेकका ६ सांसद थपिए पनि विपक्षीलाई बहुमत पुग्दैन ।

प्रतिनिधिसभामा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन् । यी मध्ये १५ जना ठाकुर समूहमा लागेकाले यी तीनै दल एक नभएसम्म विपक्षमा बहुमत नपुग्ने निश्चित छ । जसपाको ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई नै साथ दिने बताएकाले अब नयाँ सरकार बन्ने नबन्ने एमालेकै नेपाल खनाल समूहको हातमा छ ।

नेपाल-खनाल समूह निर्णायक
जसपा एकठाउँ नउभिँदा पनि नयाँ सरकार बन्ने सम्भावना भने कायमै छ । तर त्यसका लागि एमालेको नेपाल खनाल समूहले साथ दिनुपर्छ । विश्वासको मत दिने बेला अनुपस्थित नेपाल खनाल समूहका २८ सांसद मध्ये प्रत्यक्ष निर्वाचित २० जना छन् । ती २० जना सांसदले सामूहिक राजिनामा दिए विपक्षी खेमामा बहुमत पुग्ने संभावना बढ्नेछ । २० जनाको पद रिक्त हुनासाथ प्रतिनिधिसभाको कुल संख्या २ सय ५१ हुनेछ ।

त्यसको बहुमत १ सय २६ पुर्‍याउन विपक्षी दललाई सहज हुनेछ । विश्वासको मतका बेला उपस्थित नभएका मध्ये ५ जना आफ्नो पक्षमा रहेको विपक्षी गठबन्धनको दाबी छ । त्यसबाहेक नेपाल खनाल समूहका सबै २८ जनाले नै राजिनामा दिएमा विपक्षीलाइ बहुमत पुर्‍याउन झन सहज हुनेछ । तर अध्यक्ष ओलीले समानुपातिक सांसद हटाएर अन्यलाई नियुक्त गर्ने संभावना भएकाले प्रत्यक्ष सांसद नै निर्णायक हुनेछन् ।

अतः नयाँ सरकार बन्ने वा नबन्ने अब एमालेभित्रकै राजनीतिमा निर्भर छ । यो बेला प्रधानमन्त्रीलाई जसरी पनि विस्थापित गर्नुपर्छ भन्नेमा नेपाल खनाल समूह सहमत छ । तर राजिनामा दिनेबारे भने यो समुहमा एकमत छैन ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्