Main News

अस्पतालहरुमा अक्सिजनको हाहाकार, बिरामी निकाल्न थालियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २८ गते २०:५५
अस्पतालहरुमा अक्सिजनको हाहाकार, बिरामी निकाल्न थालियो (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमितको उपचारमा अत्यावस्यक मानिएको अक्सिजन अहिले नेपालमा पनि हाहाकार हुन थालेको छ । अस्पतालहरुले धमाधम अक्सिजन अभावमा बिरामीको उपचार गर्न नसकिने घोषणा गर्न थालेका छन् ।

काठमाडौं जोरपाटीको केएमसी अस्पतालले त बिरामी बाहिर लैजाउ भनेर उपचारबाट हात झिकेको छ । उसले बिरामी डिस्चार्ज पनि गर्न थालेको छ ।

काठमाडौंको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले मंगलवार दिउँसो एकाएक कोरोना संक्रमित विरामीको उपचार गर्न नसकिने भनेर हात खडा गर्यो । त्यति मात्रै होईन, उसले अक्सिजन छैन भनेर विरामीलाई अन्त लैजाउ भन्यो र, त्यसको जानकारी सरकारलाई पनि गराइएको भन्दै विज्ञप्ति निकाल्यो ।

अस्पतालका अनुसार अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएको छ र अस्पतालसँग अक्सिजन मंगलवार दिउँसो चार बजेसम्मका लागि मात्रै थियो । अस्पतालको यो घोषणासँगै विरामी गम्भीर संकटमा पर्ने देखिएको छ ।

ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले पनि अक्सिजन अभावका कारण नयाँ विरामीको भर्ना बन्द गरेको छ । यही अवस्था रहे उपचार गराइरहेका विरामी पनि समस्यामा पर्न सक्ने अस्पतालले विज्ञप्ति निकालेर चेतावनी दिएको छ । कोभिड र नन कोभिड बिरामीको उपचारमा दिनमा ४ सय ५० देखि ५ सय सिलिण्डर अक्सिजन चाहिनेमा सरकारले १ सय सिलिण्डर मात्रै दिएको उसको गुनासो छ ।

मेडिसिटीले अक्सिजन अभाव भएपछि स्वास्थ्य मन्त्रालय, सिसीएमसी, सम्बन्धित निकायलाई अक्सिजनको सहज आपूर्ति का लागि गुहारेको छ । काठमाण्डौकै मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले यसअघि विज्ञप्ति निकालेर उपचार गर्न नसकिने घोषणा गरिसकेका छन् ।

यो स्थिति मुलुकको राजधानी काठमाण्डौको हो, जहाँ हरेक दिन जसो अस्पताल अक्सिजन नभएर विरामीको उपचारबाट पछि हटिरहेका छन । र, यसले भयावह अवस्थाको संकेत गर्छ । भारतमा अक्सिजन अभावका कारण थुप्रैले ज्यान गुमाएका खवर आए पनि नेपालमा पुर्व तयारी नगरिँदा समस्या चर्किदै गएको छ ।

अहिले आफ्नै प्लान्ट नभएका अधिकांश अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । तत्कालै व्यवस्था नगरिए नेपालमा पनि भारतमा जस्तै अक्सिजन नपाएर विरामीको ज्यान जान सक्ने देखिएको छ ।

यस्तो अवस्था आउन सक्छ भनेर विज्ञले पहिले नै भनेका थिए तर सुनुवाई भएन । त्यसैले संभावित क्षति हुन नदिन सरकारले यसमा तदारुकता देखाएर छिटो काम गरोस । यसमा सबैले सरकारलाई साथ दिनुपनि त्यतिकै जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *