राजनीति

यसरी फेरियो गण्डकी प्रदेशको राजनीतिक कोर्स (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २८ गते ६:०४
यसरी फेरियो गण्डकी प्रदेशको राजनीतिक कोर्स (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ पोखरा । अविश्वासको प्रस्तावमाथि मत विभाजन हुने तय भएको अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि
गण्डकी प्रदेशको राजनीतिक कोर्स फेरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरेका थिए ।

अविश्वासको प्रस्तावमा आज मत विभाजन गर्न प्रदेश सभामा तयारी भइरहेका बेला मुख्यमन्त्री गुरुङले राजीनामा बुझाएपछि प्रदेश प्रमुख सीता पौडेलले आइतबार ३ दिनभित्र नयाँ सरकार बनाउन आह्वान गर्नु भएको छ । तर अंक गणितको समीकरणले नयाँ सरकार गठन फेरि पनि अप्ठ्यारोमा परेको छ । सरकारमा जान खुट्टा उचालेर बसेका विपक्षी गठबन्धन जनमोर्चाका कारण रोकिएको छ ।

अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनदेखि नै विपक्षी दलका सांसद पोखरा लेकसाइडस्थित एक होटलमा बसेका थिए । होटलमा बसेका सांसदले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले राजीनामा दिएको त्यही थाहा पाए ।

मुख्यमन्त्रीको राजीनामापछिको राणनीति बनाउन तीन दलको बैठक अहिले पनि होटलमा जारी छ, सांसदहरु त्यही होटलमा छन् । होटलको वास लम्बिदै जाँदा प्रदेशको राजनीति भने अन्योलमा फसेको छ ।

राष्ट्रिय जनमोर्चाको कारण गण्डकीको राजनीति फेरि पनि अनिश्चित छ । अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको जनमोर्चाले अहिले परिस्थिति फेरिएको भन्दै तीन दलीय गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेको छैन ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसद हस्ताक्षर गरेर बसेका छन् । जनमोर्चाका ३ सांसदलाई हस्ताक्षर गराउने तीन दलीय गठबन्धनको प्रयास सफल हुन सकेको छैन ।

जनमोर्चा केन्द्रले गरेको निर्णयको आधारमा विपक्षी दलले जनमोर्चाको साथ पाउने आशा गरेका छन् । जनमोर्चा प्रदेश कमिटी पनि विपक्षी गठबन्धनसँग मिल्नुपर्नेमा अडिग छ । संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाही भने हस्ताक्षर गरिहाल्ने मुडमा देखिनु भएको छैन ।

सांसद पियारी थापा भने विपक्षी गठबन्धनमा खुलेरै लाग्नु भएको छ । प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर बुझाउन हतारो गरिरहेका विपक्षी गठबन्धन जनमोर्चाको निर्णय पर्खेर बसिरहेका छन् ।

गण्डकीमा कुनै पनि दलको एकल बहुमत छैन । स्वतन्त्र चुनाव जितेका राजीव गुरुङलाई मन्त्री बनाएर मुख्यमन्त्रीले आफ्नो पक्षमा २८ सांसद पुर्‍याउनु भएको छ । जुन बहुमत भन्दा तीन कम हो ।

सबैभन्दा ठूलो दल एमालेलाई पनि फेरि सरकार बनाउन जनमोर्चाकै भर पर्नुपर्ने अवस्था छ । जनमोर्चाका ३ सांसदले साथ दिए भने फेरि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुने पक्का छ । जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्न आनाकानी गरिहँदा एमालेलाई केही बल पुगेको छ ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, सभामुखबाहेक माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसद छन् । जनमोर्चाका ३ सांसदले पनि नयाँ सरकार बनाउन समर्थन गर्दा ३१ सदस्य पुग्छ । तर, जनमोर्चा अनिर्णीत हुदाँ सरकार गठनका लागि दिइएको तीन दिने समयसीमा गुज्रदै गएको छ । यसले विपक्षी खेमामा तनाव र सत्तारुढ खेमामा उत्साह देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्