राजनीति

नयाँ सरकार : अब के होला ? यस्ता छन् विकल्पहरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते २०:५५
नयाँ सरकार : अब के होला ? यस्ता छन् विकल्पहरु (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत पाउन असफल भएपछि नयाँ सरकार गठनको समिकरण कसरी अघि बढ्ला भन्ने चासो देखिएको छ । यसमा राष्ट्रपति कार्यालय निर्णायक देखिएको छ । अब राष्ट्रपति कार्यालयले आव्हान गर्ने संविधानको धाराले नै भावी सत्ता समीकरण स्पष्ट हुनेछ ।

नेकपा एमाले एक ढिक्का राखेर जनता समाजवादी पार्टीका धेरै भन्दा धेरै सांसद आफुतिर तान्न सके मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वास जित्ने संभावना थियो । तर उहाँ जनता समाजवादी पार्टी त परको कुरा आफ्नै पार्टीका सबै मत पाउन पनि असफल हुनुभयो । परिणामस्वरुप एमालेकै १ सय २१ सांसद भए पनि प्रधानमन्त्री ओलीले जम्मा ९३ मत मात्र प्राप्त गर्नुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि अब सबैको नजर राष्ट्रपति कार्यालय शितल निवासमा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुन धाराको प्रयोग गरेर नयाँ सरकार बनाउन आव्हान गर्नुहुनेछ त्यसले नै भावि राजनीति निर्धारण हुनेछ ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुनुपर्ने विपक्षी दल र कानुनविद्को मत छ । तर ७६ कै उपधारा ३ अनुसार ठुलो दलको हैसियतले ओलीलाई नै फेरि प्रधानमन्त्रि नियुक्त गरिने हो कि भन्ने आशंका पनि देखिएको छ । राष्ट्रपतिले उपधारा २ अनुसार निश्चित समय दिएर सरकार गठनको आव्हान गरेमा विपक्षी दलको सक्रियता ह्वात्तै बढ्नेछ ।

प्रधानमन्त्री ओलीलाई विस्थापन गर्न लागि परेका नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि प्रयास गर्नेछन् । तर यी दुई दलको मात्र प्रयासले सार्थकता पाउनेछैन । अहिले संसदमा २ सय ७१ सांसद छन । यसको बहुमतको लागि १ सय ३६ मत आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ र माओवादीसँग ४८ गरी एक सय ९ सांसद छन् ।

बहुमत जुटाउन कांग्रेस र माओवादीलाई २५ मत पुग्दैन । ३२ सांसद भएको जसपाले साथ दिए नयाँ सरकार बन्न सक्छ । जसपामा भने एकमत छैन । अध्यक्ष डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव ओली बाहेकको सरकार बनाउनु पर्ने पक्षमा हुनुहुन्छ । तर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोमा अहिले पनि प्रधानमन्त्री केपी ओलीसँग नै सहकार्य गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत नपुग्ने भएपछि तटस्थ बसेको ठाकुर पक्ष ओली बाहेकको नेतृत्वमा सरकार बनाउन सहजै तयार हुने सम्भावना कमजोर छ ।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेस लगायतका दलले आफूहरूसँग बहुमत रहेको सिद्ध गर्नुपर्छ । त्यो भनेको कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्षले संयुक्त हस्ताक्षर सहित राष्ट्रपतिलाई पत्र लेखेर आफूसँग प्रतिनिधि सभामा स्पष्ट बहुमत छ भनेर देखाउनुपर्नेछ ।

ठाकुर पक्ष तयार नभए कांग्रेस र माओवादीले जसपालाई नै प्रधानमन्त्री दिएर ओलीलाई हटाउने एउटा विकल्प रहनेछ । नेतृत्व पाउने अवस्थामा सिंगो जसपा नेतृत्वका लागि तयार हुनसक्छ । यदि त्यसो हुन नसके नयाँ सरकार बन्ने संभावना एमालेको नेपाल खनाल पक्षमा भर पर्नेछ ।

नेपाल खनाल पक्षका सांसदले राजीनामा दिएमा कांग्रेस, माओवादी र जसपाको एक पक्ष मिल्दा बहुमत पुग्नेछ । नेपाल खनाल पक्ष अझै पनि पर्ख र हेरको अवस्थामा छ । ओली सरकार विस्थापित गर्नका लागि नेपाल खनाल पक्ष राजीनामा दिने निर्णयमा पुग्ने संभावना भने कायमै छ ।

सरकार गठनका लागि बहुमत सांसद जुटाउन नसके प्रतिनिधि सभामा रहेको ठूलो दलको नेताको हैसियतमा ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुनु हुनेछ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त भयो भने पुर्ण कार्यकाल सरकार चलाउन सक्नुहुनेछ भने नपाए चुनावका लागि बाटो खुल्नेछ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्