Main News

संसदबाट विश्वासको प्रस्ताव अस्वीकृत, प्रधानमन्त्री ओली पदमुक्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते १७:५६
संसदबाट विश्वासको प्रस्ताव अस्वीकृत, प्रधानमन्त्री ओली पदमुक्त (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विश्वासको मत पाउन असफल हुनु भएको छ । प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत माग्दा पक्षमा ९३ मत मात्रै खस्यो। प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १ सय २४ मत खसेको छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २ सय ७१ सदस्यको बहुमत अर्थात् एक सय ३६ मत गर्न आवश्यक हुन्थ्यो ।

प्रतिनिधिसभामा भएको मतदानमा २ सय ३२ सांसद सहभागी थिए । तीमध्ये १५ सांसद तटस्थ बसेका थिए ।

एमालेको नेपाल खनाल समूहका २८ सांसद बैठकमा उपस्थित भएनन् । यो समूहले ३५ सांसद रहेको बताएको थियो । ७ जना सांसद आफ्नो पक्षमा फर्किएको ओली समूहको दाबी छ ।

राष्ट्रिय जनमोर्चाले पनि विपक्षमा मतदान गरेको छ । जनता समाजवादी पार्टीका ३२ मध्ये ३० सांसद उपस्थित भएका थिए । ति मध्ये १५ जनाले प्रधानमन्त्री ओलीको विपक्षमा भोट हालेका छन् । भने १५ जना तटस्थ बसेका छन् ।

ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले त्यसकै लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसदको विशेष अधिवेशन आव्हान गर्नुभएको थियो ।

मतदान प्रक्रियामा पीसीआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको थियो भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ ।

सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा भएकाले मताधिकार थिएन । प्रतिनिधि सभाको अर्को बैठक वैशाख ३० गते विहिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *