नेपाल–खनाल समूहले प्रधानमन्त्री ओलीलाई दियो बिहान ९ बजेसम्मको अल्टिमेटम

Himalaya Television
२०७८ वैशाख २६ गते २०:४९

नेपाल–खनाल समूहले प्रधानमन्त्री ओलीलाई दियो बिहान ९ बजेसम्मको अल्टिमेटम

२६ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

सर्वोच्च अदालतको आदेशले दुईवटा पार्टीको एकतालाई भंग गरेपछि पार्टीलाई पूर्ववत रुपमा नै संञ्चालन गर्नुपर्ने अडान लिदै आएको नेपाल–खनाल समूहले सोही अडानमा अडिग रहँदै त्यसमा अध्यक्षको प्रतिबद्धता खोजेको हो । नेपाल–खनाल समूहका सांसदहरुको आइतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धताका लागि भोलि सोमबार बिहान ९ बजे सम्मको समय दिएको हो । नेता योगेश भट्टराईले ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षको आफुहरुको मागका सम्बन्धमा प्रतिवद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिनुभयो ।

सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ । नेता भट्टराईले अध्यक्षबाट प्रतिबद्धता आए बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्ने र प्रतिवद्धता नआए कठोर निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो पार्टी नेकपा एमाले अहिले अत्यन्तै कठिन समयमा छ । पार्टी एकताको रक्षा गर्ने र सामुन्ने आएका ऐतिहासिक जिम्मेवारी पुरा गर्ने सन्र्दभमा हामी अन्तिम बेलासम्म पनि पार्टी एकतालाई जोगाउने कुरामा कोशिष गरिरहेका छौ । आजको बैठक पनि त्यही श्रृंखलाको एउटा कडी हो । भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव लाँदै हुनुहुन्छ । त्यस सन्दर्भमा के गर्ने भन्ने बारेमा आज हामीले छलफल गरेका छौ ।

आजको बैठकले पार्टी एकतालाई जोगाउन, त्यसको रक्षा गर्न र पार्टीलाई सहमतिमा पुराउने मुख्य दायित्व अध्यक्षको हो भन्ने कुरामा हामी एकमतमा पुगेका छौ । पार्टी अध्यक्षले त्यो दायित्व र जिम्मेवारीलाई गम्भीरताकासाथ पुरा गर्नुभएको छैन भन्ने हाम्रो निष्कर्ष छ । आज मात्रै उहाँले एउटा वक्तव्य दिनुभएको छ र पार्टीको एउटा पक्षलाई लाञ्छित गर्ने खालको शब्द वक्तव्यमा समावेश गर्नुभएको छ । त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौ र पार्टी अध्यक्षलाई फेरी पनि एकताको पक्षमा गम्भीरताका साथ आगाडि बढ्न ध्यानाकर्षण गरेका छौ ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसला अनुसार, दुई वटा पार्टीको एकता भंग भइसकेपछि नेकपा एमाले स्वतः २०७५ जेठ २ गतेको अवस्थामा पुगेको छ । हामीले उठाएको एउटै कुरा हो कि अब पार्टीको जीवन, संगठन, पार्टीको नेतृत्व विचार सबै एकतापुर्वको अवस्थाबाट अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पहिलो प्रस्ताव हो । त्यो प्रस्तावमा हामी अहिले पनि दृढताका साथ उभिएका छौ । हामीले आजको बैठकबाट पनि पार्टी अध्यक्षलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्केर संगठनको जीवनलाई, पार्टीको जीवनलाई सुचारु गर्नका निम्ति ध्यानाकर्षण गरेका छौ । र पार्टीलाई सहमतिको आधारमा संञ्चालन गर्नका निम्ति ध्यानाकर्षण गरेका छौ । त्यसको निम्ति उहाँलाई भोलि वैशाख २७ गते बिहान ९ बजे सम्मको समय दिएका छौ ।”

प्रधानमन्त्रीको तर्फबाट पार्टी संगठनलाई पूर्ववत अवस्थाबाट सञ्चाल गर्र्ने प्रतिबद्धता नआए नेपाल पक्षका सांसदहरुले सांसद पदबाट नै राजीनामा गर्ने तयारी गरेको छ । यसबारेमा भने नेता भट्टराईले कठोर निर्णय भनेपछि बुझ्नु न भन्दै संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो“जेठ २ गते २०७५ सालको अवस्थामा फर्केर पार्टी र संगठनलाई सञ्चालन गर्ने कुरा र आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा उहाँको प्रतिबद्धता हामीले खोजेका छौ । यदि उहाँले त्यो प्रतिवद्धता जनाउनुभयो भने प्रतिनिधिसभामा हाम्रो उपस्थिति हुन्छ र हामी विश्वासको मतको पक्षमा मतदान गर्छौ । त्यो स्थिति भएन र एउटा समूहलाई किनारा लगाउने, पेल्ने, धकेल्ने, कारवाही गर्ने, हतोत्साही गर्ने,डर , धाक, धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरु निरन्तर भए भने हामीले भोली बैशाख २७ गते जे निर्णय गर्नुपर्ने हो त्यो निर्णय गर्छौ । र सम्पुर्ण माननीय सदस्यहरुलाई भोली बिहान साढे ९ बजे संसद सचिवालयमा निमन्त्रणा गरेका छौ । ९ बजेसम्म अध्यक्षको प्रतिवद्धताको प्रतिक्षा गर्छौ । ९ बजेपछि जुन निर्णय गर्नुपर्ने हो । कठोर निर्णय हामी गर्छौ । ”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs