बेलायतले नेपालबाट हुने यात्रामा लगायो प्रतिबन्ध
२६ वैशाख २०७८ लण्डन । बेलायतले कोभिड १९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरेका हुन् ।
विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ । उक्त यात्रा प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागु हुने जनाइएको छ ।
रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले भने सरकारले तोकेका क्वारन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।
यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले आफ्नो देशमा फर्कँदा क्वारन्टिनमा बस्नु नपर्ने प्रावधान राखिएको छ ।
प्रतिक्रिया