आफ्नो सिफारिसबिना अक्सिजन नदिन उद्योगहरुलाई स्वास्थ्य मन्त्रालयको परिपत्र
२६ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ ।
निजी अस्पतालहरुले भने अक्सिजनको सपोर्टमा उपचाररत कोरोना संक्रमित विरामीहरु जोखिममा पर्ने बताएका छन् ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र एचईओसीले हिजो १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन भनेको हो ।
धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको एईओसीको पत्रमा उल्लेख छ ।
मन्त्रालयको निर्देशनपछि अक्सिजन सप्लायर्सहरुले सिफारिस लिएर आउनु भन्दै अक्सिजन रोक्न थालेको एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल अफिनले जनाएको छ ।
यसले उपचाररत विरामीहरु जोखिममा पर्नुका साथै नयाँ विरामी लिन नसक्ने अवस्था आउनसक्ने अफिनका महासचिव हेमराज दाहालको भनाइ छ ।
अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन सपोर्ट दिनु परेको चिकित्सकहरु बताउँछन् । अधिकांश निजी अस्पतालको आफ्नो प्लान्ट छैन ।
मन्त्रालयको यो निर्णयले निजी अस्पतालमा उपचार गराइरहेका र अक्सिजनको आवश्यकता रहेका बिरामीको स्वास्थ्य जोखिममा पर्नसक्ने बताउनुभयो । अफिनले निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रतिक्रिया