Main News

कोरोना फैलनुमा नागरिकमाथि दोष थोपर्दै प्रधानमन्त्री ओली पानीमाथिको यस्तो ओभानो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २६ गते ६:४३
कोरोना फैलनुमा नागरिकमाथि दोष थोपर्दै प्रधानमन्त्री ओली पानीमाथिको यस्तो ओभानो ? (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले लापरबाही गरेका अहिले कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिएको आरोप लगाउनुभएको छ । अमेरिकी टेलिभिजन च्यानल सीएनएनलाई आज दिउँसो दिएको प्रत्यक्ष अन्तर्वार्तामा ओलीले अहिले कोरोना संक्रमण तिव्र भए पनि स्थिति सबै नियन्त्रणमा रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई ढाँट्नु भएको छ ।

सीएनएनसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– पोहोर हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ। मृत्युदर शून्यमा झरेको थियो। संक्रमण पनि दैनिक ५० को हाराहारीमा थियो। तर नागरिकले महामारी सकिएको ठाने, लापरवाही गरे। त्यसकारण महामारीको दोस्रो लहर आयो।

संक्रमण फैलनुमा प्रधानमन्त्रीले नागरिकलाई दोष लगाए पनि यसमा उहाँ आफैँ जिम्मेवार हुनुहुन्छ । उहाँले भनेको समयमा नागरिकभन्दा पनि उहाँकै दल र उहाँबाट लापरबाही भएको थियो ।

काठमाडौंसहित देशका ठूल्ठूला शहरमा सभा गरेर प्रधानमन्त्रीले नै कोरोना हटिसकेको सन्देश नागरिकमाझ पुर्‍याउनु भएको थियो । संसद विघटनको विरोधमा तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहसँग सभा र जुलुसमा प्रतिस्पर्धा गर्दै प्रधानमन्त्रीले आमसभा र जनसभा कत्रो र कस्तो हुन्छ हेर्न आउ भन्दै हजारौँ मानिस जम्मा गरेर भाषण गर्नुभयो ।

पछि दोश्रो लहर शुरु भएपछि पनि विज्ञले स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन सुझाव दिइरहेका थिए । सरकारले पनि २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरेको थियो । तर त्यो निर्णय प्रधानमन्त्रीले नै उल्लंघन गर्नुभयो ।

बालुवाटारबाट राम सीताको रथयात्रा शुरु गर्दा होस वा धरहराको उद्घाटन गर्दा । त्यसमा सरकार पक्षबाटै लापरबाही भएको थियो । कोरोना संक्रमणको दोश्रो लहर डढेलो झैं फैलिँदा पनि प्रधानमन्त्री र उहाँका मन्त्रीहरु उद्घाटन, सभा र सम्मेलनमा व्यस्त थिए ।

प्रधानमन्त्रीकै निर्देशनमा चितवनमा राम सीताको मूर्ति प्रतिस्थापनमा त हजारौँ सहभागी भए । यो भएको धेरै दिन भएको छैन । त्यो कार्यक्रममा सहभागी पर्यटन मन्त्री भानुभक्त ढकाल, एमाले सांसद कृष्णकुमार श्रेष्ठलाई संक्रमण नै पुष्टि भयो।

आफै २५ जना मान्छे भेला हुन नपाइने निर्णय गरेर बालुवाटारमा सय भन्दा भन्दा धेरै एमाले केन्द्रीय सदस्य भेला गरे बैठक गर्ने पनि उहाँ नै हो । र, ती बैठकमा सहभागी कतिपय नेताहरु संक्रमित भएर कोही अहिले अस्पताल त कोही आइसोलेसनमा छन् ।

प्रधानमन्त्रीले अहिले आफूहरु नागरिकलाई सचेत बनाउँदै संक्रमणबाट जोगाउन लागेको र संक्रमण सबै नियन्त्रणमा रहेको दाबी पनि गर्नुभयो । तर सरकारकै अन्य निकायले निकालेका तथ्यांक र सूचना अनुसार स्थिति नियन्त्रणमा छैन ।

स्वास्थ्य मन्त्रालयले केही दिन अघि मात्र संक्रमण तीव्र गतिमा फैलिएको र स्वास्थ्य सेवाले थेग्न सक्ने अवस्था नरहेको बताएको थियो। र पछिल्लो पटक सार्वजनिक संक्रमित र मृतकको संख्याले भने स्थिति भयावह हुँदै गएको देखाएको छ । तर प्रधानमन्त्रीले स्थिति नियन्त्रणमा भनेर अन्तर्राष्ट्रिय समुदायलाई ढाँट्नु भएको छ ।

प्रधानमन्त्रीको स्थिति नियन्त्रणमै छ भन्ने भनाइप्रति सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका छन् । प्रधानमन्त्रीले यसरी ढाँट्नु भन्दा आवश्यक तयारीतिर लाग्नु देश र नागरिकको पक्षमा हुनेछ । अन्यथा गल्ती माथि गल्ती हुने र त्यसलाई ढाकछोप गर्नमै दिन बित्नेछ ।

प्रतिक्रिया

One thought on “कोरोना फैलनुमा नागरिकमाथि दोष थोपर्दै प्रधानमन्त्री ओली पानीमाथिको यस्तो ओभानो ? (भिडियो रिपोर्टसहित)

  1. jo sukai ko sarkar hos tyo sarokar vayana, sarkar ko pani galti xa manxu, but hami nepali chahi dherai careless vayara nai ho yeti saro vako, सरकारले नै आयर मुखमा मास्क लगाइदिने त हैन होला नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *