राजनीति

एमालेमा विभाजन रोक्ने प्रयास, यस्ता छन् ओली र नेपाल पक्षका रणनीति

हिमालय टिभी
२०७८ वैशाख २५ गते १५:१४
एमालेमा विभाजन रोक्ने प्रयास, यस्ता छन् ओली र नेपाल पक्षका रणनीति

२५ वैशाख २०७८ काठमाडौं । पार्टी विभाजन रोक्ने प्रयासमा नेकपा एमालेका दोस्रो तहका नेताहरुबीच आज पनि छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले नेताहरुबीच छलफल हुन लागेको हो ।

संस्थापन पक्षका नेता ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, विष्णु र रिमाल तथा नेपाल–खनाल पक्षका नेता घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईबीच छलफल हुनेछ ।

असन्तुष्ट पक्षका नेताहरुसँग सहमतिको न्यूनतम विन्दुका बारेमा अहिले संस्थापन पक्षका नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

ईश्वर पोखरेल र विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहनुभएको छ । त्यसपछि नेपाल खनाल पक्षका नेताहरुसँग छलफल हुनेछ । तीन दिनयता लगातार छलफल भए पनि सहमतिको विन्दु भने नभेटिएको नेपाल–खनाल पक्षका एक नेताले जानकारी दिए ।

हिजो यी नेताबीच छलफल भए पनि सहमति हुन सकेको थिएन । तर आज सहमतिको प्रस्तावसहित छलफल गर्ने समझदारी भएको थियो । खास गरी संस्थापन पक्षसित सहमति गर्ने खाका नै नरहेको नेपाल–खनाल पक्षको आरोप छ ।

नेपाल खनाल पक्षले पार्टीलाई ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने, ०७७ साल फागुन २८ गते यता भएका सबै निर्णय खारेज गर्नुपर्ने मागलाई न्यूनतम शर्त बनाएको छ । संस्थापन पक्षले फागुन २८ गतेयताका सबै निर्णय मानेर सहमति खोज्नु पर्ने तर्क गरेको छ ।

एक नेताका अनुसार संस्थापन पक्षले स्थायी कमिटीको बैठक बस्ने र कार्य दल बनाएर सहमति खोज्ने विकल्प पनि ल्याएको छ । तर त्यसलाई नेपाल–खनाल पक्षले मानेको छैन ।

कुन स्थायी कमिटी भन्ने उसको प्रश्न छ । स्थायी कमिटी बोलाउने भए ०७५ साल जेठ २ मा कायम रहेको बैठक बोलाउनुपर्ने उसको अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्