Main News

देशका सबै जिल्लामा पुग्यो कोरोना, ४३ जिल्ला बढी जोखिममा, ६२ जिल्लामा निषेधाज्ञा

हिमालय टिभी
२०७८ वैशाख २५ गते ८:०१
देशका सबै जिल्लामा पुग्यो कोरोना, ४३ जिल्ला बढी जोखिममा, ६२ जिल्लामा निषेधाज्ञा

२५ वैशाख २०७८ काठमाडौैं । दोस्रो चरणको कोरोना संक्रमण सबै जिल्लामा पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ४३ वटा जिल्ला बढी जोखिममा देखिएका छन्।

२२ जिल्लामा ५०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। प्रदेश १ का झापा, मोरङ र सुनसरीमा ५०० बढी संक्रमित छन् भने प्रदेश २ का धनुषा र पर्सामा संक्रमितको संख्या ५०० बढी पुगेको छ।

बागमती प्रदेशमा उपत्यकाका तीन जिल्लासँगै चितवन, काभ्रे, मकवानपुर, धादिङ र नुवाकोटमा ५०० बढी संक्रमित छन्। गण्डकी, कर्णाली र सुदूरपश्चिममा एकएक जिल्लामा मात्रै संक्रमितको संख्या ५०० नाघेको छ। यी प्रदेशका कास्की, सुर्खेत र कैलालीमा ५०० बढी संक्रमित छन्।

लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया र कपिलवस्तुमा ५०० बढी संक्रमित छन्। २१ जिल्लामा २०० बढी र ५०० भन्दा कम संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रदेश २ का बारा, रौतहट, महोत्तरी, सर्लाही र सिरहामा २०० बढी संक्रमित पुगेका छन्। बागमतीका सिन्धुपाल्चोक र सिन्धुली तथा गण्डकीका गोरखा, नवलपरासी पूर्व, तनहुँ, म्याग्दी र स्याङ्जामा संक्रमितको संख्या २०० बढी पुगेको छ।

लुम्बिनीका नवलपरासी पश्चिम, अर्घाखाँची र गुल्मी, कर्णली प्रदेशको दैलेखमा संक्रमितको संख्या २०० नाघेको छ। सुदूरपश्चिमका पनि कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी र अछाममा सक्रिय संक्रमित २०० बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै उपत्यकाका तीन जिल्लामा संक्रमित छन्। काठमाडौंमा २५ हजार ९ सय ४० जना, ललितपुरमा ५ हजार ४ सय २९ जना र भक्तपुरमा ३ हजार २ सय ५२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

देशभर परीक्षण गरिएका मध्ये १४ दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको छ। संक्रमित मध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको छ।

सरकारले पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि र ठूला सहरमा ५०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञा गर्न सक्ने निर्णय गरेको छ। त्यही निर्णयअनुसार अहिलेसम्म ६२ जिल्लाले निषेधाज्ञा घोषणा गरिसकेका गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *