३ उम्मेदवार मैदानमा : बादल र देवकोटामा को बलियो ? (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ हेटौंडा । राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जनासहित ३ उम्मेदवार मैदानमा उत्रिएका छन । नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले आज उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
बागमती प्रदेशबाट राष्ट्रिय सभाको एक सदस्यका लागि हुने उप चुनावमा ३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये नेकपा एमालेकै २ उम्मेदवार मैदानमा छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट डाक्टर खिमलाल देवकोटालाई , नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र यादव पक्षको समर्थन छ ।
गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा एमालेको संस्थापन पक्षले उम्मेदवार बनाएको छ । विहीवारसम्म हार्ने चुनाव लड्दिँन भन्ने बादल बिहान बालुवाटारमा बसेको एमाले संस्थापनको स्थायी कमिटी बैठकपछि हेलिकोप्टरमा प्रदेश राजधानी हेटौंडा पुगेर मनोनयन दर्ता गर्नुभयो । विहीवार त्रासमा रहेका थापाले चुनाव जित्ने दावी समेत गर्नुभयो ।
९ हजार ५ सय ६४ मतभार रहेको यो चुनावमा थापाले यस्तो दावी गरेपनि एमालेको ५ हजार १ सय ३० मतभार एक ढिक्का छैन । त्यसैले सबै ५ हजार १ सय ३० मत उहाँले पाउने स्थिति छैन ।
एमालेकै नेपाल खनाल समूहका देवकोटालाइ नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र यादव पक्षको समर्थनमा छ । बागमतीमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एमालेको नेपाल खनाल समूहका कुल सांसद् ६८ छन् । जसको मतभार ३२ सय ६४ हुन्छ। यस्तै बागमतीका १३ जिल्लाका स्थानीय तहका प्रमुख,उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कांग्रेसका ६८, माओवादीका ३३ र जसपाका एक जना छन्।
उनीहरुको मतभार १८ सय ३६ हुन आउँछ। जुन ५१ सय हो । यसमा नेपाल पक्षका स्थानीय तहका प्रतिनिधिको मत जोडिएको छैन । अर्थात देवकोटाले जित्ने देखिन्छ । एमाले संस्थापनले नेपाल खनाल समूहसँग छलफल गरिररहेकोले गृहमन्त्री थापाको दावी आएको हुन सक्छ ।
तर नेपाल खनाल समूहका उम्मेदवार खिमलाल देवकोटाकै अनुसार सहमति हुने संभावना देखिन्न । किनकी उहाँको उम्मेदवारी प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध हो । जसका विरुद्ध एमालेको नेपाल खनाल समूह संघर्षमै छ ।
प्रधानमन्त्री ओलीले आफूलाई साथ दिने अपेक्षा गरेको मजदुर किसान पार्टी आफै मैदानमा उत्रिएको छ । जुन प्रधानमन्त्री ओलीलाई झड्का हो । देवकोटा र बादलसँगै यो उप चुनावमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यो उपचुनावमा बागमती प्रदेश सभाका सदस्य र बागमती प्रदेश भित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला
प्रतिक्रिया