राष्ट्रियसभा सदस्यको उपचुनावका तीन उम्मेदवार, कस्ले के भने ? (भिडियो रिपोर्टसहित)
२४ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।
नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
देवकोटालाई कांग्रेस माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको समर्थन छ । हिजोसम्म हार्ने चुनाव उठ्दिँन भन्दै आएका गृहमन्त्री थापा आज बिहान बसेको नेकपा एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकपछि उम्मेद्वार बन्न तयार हुनुभएको हो ।
एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाल सहितको टोलीलाई लिएर सिम्रिक एयरको हेलिकप्टरमार्फत हेटौंडा गएर थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
नेकपा एमालेको ५ हजार १ सय ३० मतभार रहेको र त्यो सबै मत आफूलाई आउने भएकाले आफूले जित्ने दावी थापाले गर्नुभयो ।
थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत हुनुहुन्छ । गृहमन्त्री थापालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।
यो उपचुनावमा गृहमन्त्री थापाको प्रतिस्पर्धीमा एमालेको नेपाल खनाल समूहका डाक्टर खिमलाल देवकोटा हुनुहुन्छ । हिजो नै बागमती प्रदेशका राजधानी हेटौडा पुगेका देवकोटाले आज सबैभन्दा पहिले उम्मेदवारी दर्ता गर्नुभयो ।
देवकोटालाई एमालेको नेपाल समूहसहित, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र यादव पक्षको समर्थन छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बारम्बार संविधान उल्लंघन भइरहेकाले आफू संविधान रक्षाका लागि उम्मेद्वार बनेको देवकोटाले बताउनुभयो ।
देवकोटाको मनोनयनका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, माओवादी नेता शालिकराम जम्कट्टेल, जसपाका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी लगायतका नेताहरु निर्वाचन कार्यालय पुगेका थिए ।
देवकोटाको समर्थकमा शालिकराम जमकट्टेल र समर्थकमा राधा घले हुनुहुन्छ । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रिय सभा चुनाव जितेमा आफूले कानून अनुसार काम गर्ने तामाङले बताउनुभयो ।
तामाङको प्रस्तावकमा सुरेन्द्रराज गोसाइँ र समर्थकमा सिर्जना सायजु हुनुहुन्छ । यो उपचुनावमा बागमती प्रदेश सभाका सदस्य र बागमती प्रदेश भित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।
प्रतिक्रिया