Main News

तत्काल कोभिशिल्ड खोप खरिद गर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयको प्रष्टिकरण

हिमालय टिभी
२०७८ वैशाख २४ गते १५:२१
तत्काल कोभिशिल्ड खोप खरिद गर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयको प्रष्टिकरण

२४ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले प्रेस विज्ञप्ति निकालेर अहिलेको अवस्थामा भारतबाट थप कोभिशिल्ड खोप खरीद गर्नसक्ने अवस्था नरहेको जानकारी दिनुभएको हो ।

भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाको कम्पनीमा आगलागी भएकाले अहिले थप ५० लाख मात्रा कोभिसिल्ड खोप किन्ने अवस्था नरहेको मन्त्रालयले जनएको छ ।

कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने सेरमले जानकारी दिएको पनि मन्त्रालयले जनाएको छ ।

भारतले सेरमबाट उत्पादित १० लाख कोभिशिल्ड खोप अनुदानमा दिएको थियो। त्यसलाई लगाउन थालेसँगै नेपालले थप २० लाख खोप खरीद गरेको थियो। त्यसमध्ये १० लाख डोज नेपाललाई दिएको छ भने १० लाख डोज दिन बाँकी छ। 

यससँगै सरकारले सेरमबाट थप ५० लाख खोप खरीद गर्ने प्रक्रिया थालेको थियो। त्यसलाई ध्यानमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबैलाई खोप लगाइसक्ने घोषणा गर्नुभएको थियो । तर सेरमबाट ५० लाख खोप खरीद गर्ने प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन। 

सेरमका स्थानीय प्रतिनिधिलाई १० प्रतिशत कमिसन नदिँदा खरीद प्रक्रिया रोकिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउँदै आउनुभएको छ ।

थप खोप नआउँदा खोप कार्यक्रम पनि प्रभावित भएको छ। यसै विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिँदै तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको हो।

अन्य कम्पनीका खोप खरीदका लागि कूटनीतिक तथा अन्य माध्यमबाट प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *