वरिष्ठ नेता नेपालको प्रष्टिकरण–अध्यक्ष ओलीसँग कुनै सहमति भएको छैन
२४ वैशाख २०७८ काठमाडौं । नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेसम्म पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताउनुभएको छ ।
फेसबुकमार्फत एमाले वरिष्ठ नेता नेपालले सुदृढ र एकताबद्ध पार्टीका लागि वार्ता गर्न र लचिलो हुन रहेपनि अहिलेसम्म सहमति नभएको बताउनुभएको हो ।
नेपालका अनुसार २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटमलाइन हो ।अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच हिजोदेखि निरन्तर संवाद भएपनि जारी रहे पनि कुनै सहमति हुन सकेको छैन ।
नेपालले २०७७ फागुन २८ गते र त्यसपछि बसेका बैठक र निर्णय फिर्ता लिनुपर्ने पनि प्रष्ट पार्नुभएको छ । २८ पछिका बैठक र निर्णयलाई नेपालले कथित भन्नुभएको छ ।
नेपालले आफूहरुले बनाएको पार्टी भएकोले हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको र त्यसका लागि वार्ता गर्ने लचिलो हुने उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीसँग सहमति भएको चर्चा चलेपछि त्यसलाई खण्डन गर्दै नेता नेपालले कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
हिजोदेखि अध्यक्ष ओली र नेपाल तथा दुवै तर्फका दोस्रो तहका नेताबीच सघन छलफल भैरहेको छ । आजै पनि ओली र नेपालबीच छलफल हुँदैछ । तर त्यसअघि नेपालको धारणा सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया