Main News

सस्तोमा ल्याएर निःशुल्क दिन सकिने खोप एजेन्टका कारण महंगोमा ल्याउन अनुमति

हिमालय टिभी
२०७८ वैशाख २४ गते ७:५७
सस्तोमा ल्याएर निःशुल्क दिन सकिने खोप एजेन्टका कारण महंगोमा ल्याउन अनुमति

२४ वैशाख २०७८ काठमाडौं । सस्तोमा ल्याएर निःशुल्क दिन सकिने खोप नागरिकले एजेन्टका कारण अब चार गुणासम्म महंगो मूल्यमा किनेर लगाउनु पर्ने भएको छ ।

भारतको सेरम इन्स्टिच्युट अफ लाइफ साइन्स सेरम कम्पनीको दुई डोजका लागि नागरिकले व्यापारिक कम्पनीलाई ३४ सय १८ रुपैयाँ भुक्तान गर्नुपर्नेछ ।

त्यस्तै, भारत बायोटेकको कोभ्याक्सिन दुई डोज लगाउन ५ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । सरकारले यसअघि चार डलरमा ल्याएको खोप चार गुणा बढी मूल्यमा बेच्ने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ ।

खोप ल्याउन अवरोध गरेको भनेर दण्डित हुनुपर्ने कम्पनी हुकमलाई पुरस्कृत गर्दै सरकारले नै चार गुणा बढी मूल्यमा खोप बेच्न अनुमति दिएको हो । तर, सोही मूल्यमा आउने भए पनि चिनियाँ खोपलाई भने सरकारले अनुमति दिएको छैन ।

सरकारले सेरमबाट प्रतिडोज चार डलर अर्थात चार सय ७२ रुपैयाँमा खोप ल्याएको थियो । तर, अब भने नागरिकबाट प्रतिडोज १७ सय ९ रुपैयाँ शुल्क उठाउन हुकमले स्वास्थ्य सेवा विभागबाट अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सेरमको कोभिसिल्डसँगै भारत बायोटेकको कोभ्याक्सिनलाई पनि व्यावसायिक प्रयोजनका लागि विभागले अनुमति दिएको छ । कोभ्याक्सिन ल्याउन इब्राल्ड फर्मास्युटिकल्सले अनुमति पाएको छ ।

स्पुतनिक ‘भी’को दुई डोजको मूल्य ३८ सय ८५ रुपैयाँ कायम गरिएको छ । तर, यो खोप बेच्न अनुमति प्रदान भएको छैन ।

कोभ्याक्सिन र स्पुतनिक ‘भी’ भन्दा पनि सस्तो मूल्य प्रस्ताव गरिएको चीनको भेरोसेलले पनि आश्चर्यजनक रूपमा अनुमति पाएको छैन । जबकी सिनोभ्याक लाइभ साइन्सको यो खोप नेपालमा प्रयोग भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *