Main News

अस्ताए ‘गोल्डेन भ्वाइस अफ नेपाल’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २४ गते ६:१५
अस्ताए ‘गोल्डेन भ्वाइस अफ नेपाल’ (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा निधन भएका प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

मिठो स्वर लिएर अब प्रेमध्वज प्रधान कुनै पनि मञ्चमा देखिनुहुनेछैन । वरिष्ठ संगीतकार एव गायक प्रधान हामी सबैलाई छाडेर टाढा धेरै टाढा जानु भएको छ ।

उहाँको जन्म ८४ वर्षअघि सिन्धुपाल्चोकको चौतारामा भएको थियो । प्रधानका जिजुबाजे र बाजे शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्ने भएले उहाँको घरमा साङ्गितिक माहोल थियो। त्यसैको प्रभावले उहाँमा पनि गीतसङ्गीतप्रति रूची जागेको थियो ।

त्यो रुचीमा आमाले मलजल गर्नुभयो । प्रधान केटाकेटी हुँदै बा आमाको सम्बन्ध विच्छेद भयो । तर पनि उहाँले बाको घर र आमाको कोठा ओहोर दोहोर गरेर गीत सिक्नुभयो ।

१५ वर्षको उमेरमा २००९ सालमा उहाँले हिन्दी गीत गाएर रेडियो नेपालबाट स्वर परिक्षा उत्तिर्ण गर्नुभयो । भारतीय संगीतकार जयदेव काठमाडौं आएका बेला जयदेवकै फिल्मका चार वटा गीत गाएर सुनाएपछि जयदेवले प्रधानलाई नेपाली चलचित्रमा ब्रेक दिनुभयो ।

२०२३ सालमा रिलिज भएको ‘माइतीघर’ सिनेमामा प्रधानले जयदेवको संगीतमा नमान लाज यसरी गाउने अवसर पाउनु भयो । त्यसपछिका जीवनरेखा, मायालु पच्चिस वसन्त अन्याय लगायतका दर्जन भन्दा बढी चलचित्रमा उहाँले गीत गाउनुभयो । र उहाँको गायकीले यसरी गति लियो कि उहाँ ुगोल्डेन भ्वाइस अफ नेपालु भनेर चिनिनुभयो ।

दिवङ्गत प्रेमध्वज प्रधानले घुम्तीमा नआउ है सहित, तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको, पर लैजाउ फुलहरु, तारा मात्र हैन तिमीलाई लगायतका गीत चर्चित र लोकप्रिय छन् । उहाँ नेपाली हिन्दी र नेपाल भाषाका गीत गाउनु हुन्थ्यो ।

नेपाल भाषा नबुझ्ने र नबोल्नेले पनि गुनगुनाउने नेपाल भाषाको गीत राजमति प्रधानकै सिर्जना हो ।

उहाँले सरकारका तर्फबाट उत्कृष्ट गायक अवार्ड, गोरखा दक्षिण बाहु, बिख्यात त्रिशक्ती पट्ट, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतका अवार्ड र सम्मान पाउनु भएको छ । मुर्धन्य गायक प्रधानको निधनले नेपाली गीत संगीतमा अपूरणीय क्षति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *