Main News

मध्यरातिदेखि स्थगन भयो अन्तरराष्ट्रिय उडान

हिमालय टिभी
२०७८ वैशाख २४ गते ६:०३
मध्यरातिदेखि स्थगन भयो अन्तरराष्ट्रिय उडान

२४ वैशाख २०७८ काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन भएको छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ ।

विमानस्थल कार्यालयकाअनुसार गएरातिसम्म उडान हुनेछ । हिजो अन्तरराष्ट्रियतर्फ २६ प्रस्थान र २५ आगमन गरी ५१ उडान निर्धारण गरिएको थियो ।

मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो । यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ ।

आन्तरिक र अन्तरराष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

चार्टड र उद्धार अन्तरराष्ट्रि उडानबाट आउने÷जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणकालागि सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।

अघिल्लो वर्ष कोभिड–१९ सङक्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो ।

चैत १० देखि आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान स्थगन गरेको थियो । महामारी घटेपछि गत भदौँ १६ गतेबाट अन्तरराष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *