Main News

खोप खरिदमा पनि बिचौलियाको प्रभावका सरकार, कमिशन नमिल्दा खोप आउन नसकेको स्वीकार

हिमालय टिभी
२०७८ वैशाख २३ गते ७:४०
खोप खरिदमा पनि बिचौलियाको प्रभावका सरकार, कमिशन नमिल्दा खोप आउन नसकेको स्वीकार

२३ वैशाख २०७८ काठमाडौं । कोरोना महामारी शुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा ओम्नी इन्टरनेसनलसँग बदनियतपूर्ण सम्झौता गरेको भनेर आलोचित सरकार खोप खरिदमा पनि बिचौलियाको प्रभावमा परेको छ ।

स्वास्थ्य मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ ।

खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजेको र बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परेको अभिव्यक्ति स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले दिनुभएको छ ।

त्यही कारण ५० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । खोप खरिद रोकिएलगत्तै मन्त्री त्रिपाठीले सीमित सञ्चारकर्मीसँग एजेन्टको स्वार्थ पूरा गर्न नसकिएको बताउनु भएको थियो ।

कमिसनकै कारण खोप ल्याउन नदिन बिचौलियाहरू सफल भएको मन्त्रालयको बुझाइ छ । सिरमको नेपाली एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो । हुकाम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ ।

उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमिसन मागेको मन्त्रालयको दाबी छ । फागुन ४ को मन्त्रिपरिषद् बैठकले एक डोजको ४ अमेरिकी डलरका दरले २० लाख खोप खरिद गर्न ८० प्रतिशत रकम भुक्तानी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार फागुन ९ मा १० लाख डोज खोप आएको थियो । अझै १० लाख डोज आउन बाँकी छ ।

१० लाख डोज आएपछि मन्त्रालयले ५० लाख डोज खोप खरिदको प्रस्ताव सिरमलाई पठाएको थियो । २० लाख डोज किन्दा स्थानीय एजेन्टलाई कमिसन नदिने सिरमसँग सम्झौता नै भएको थियो । ५० लाख डोज खरिदमा भने एजेन्ट बाधक भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

२० लाख खोप ४ लाख प्रतिडोजमा खरिद गर्ने सम्झौता भएकामा ५० लाख खोप खरिद गर्न कमिसनसहित प्रतिडोज ६ दशमलव शून्य ५ डलरमा सिरमबाट प्रस्ताव आएको मन्त्रालयले जनाएको छ । खोप खरिदको छलफल चल्दा फागुन तेस्रो साता एक डलरको १ सय १५ नेपाली रुपैयाँ थियो ।

यसअनुसार एक डोज खोपको ६ सय ९५ रुपैयाँ ७५ पैसा पर्थ्यो । ५० लाख डोज खोप खरिद गर्दा ३ अर्ब ४७ करोड ८७ लाख ५० हजार रुपैयाँ पर्थ्यो । १० प्रतिशत कमिसन घटाउने हो भने ३४ करोड ७८ लाख ७५ हजार रुपैयाँ कम पैसामा खोप खरिद गर्न सकिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *