राजनीति

सत्ता सहकार्य तोड्दा प्रम ओलीलाई लगायो यस्ता आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २३ गते ६:०७
सत्ता सहकार्य तोड्दा प्रम ओलीलाई लगायो यस्ता आरोप (भिडियो रिपोर्टसहित)

२३ वैशाख २०७८ काठमाडौं । दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको ३८ महिना लामो सत्ता सहकार्य औपचारिक रुपमा अन्त्य भएको छ । ०७४ साल फागुन ३ गते केपी शर्मा ओलीले माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । निकै उत्साहका साथ समाजवादमा जाने भन्दै चुनावी गठबन्धन गरेर ओली सरकार बन्यो । पार्टी एकता पनि भयो ।

तर त्यो एकता टिक्न सकेन र दुई पार्टी फागुन २३ गते अदालतको फैसला बमोजिम साविककै अवस्थामा फर्किए । तर सरकारसितको सम्बन्ध तोड्न भने केही समय लाग्यो । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन विधिवत रुपमा फिर्ता लिएपछि दुई पार्टीबीचको सहकार्य औपचारिक रुपमै अन्त्य भएको छ। सहकार्य अन्त्य गर्दै गर्दा माओवादीले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएको छ ।

प्रधानमन्त्रीमाथि माओवादीका आरोप
१. राष्ट्रियताको मुद्दामा सौदाबाजी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सबैभन्दा राष्ट्रवादी दावी गर्दै आउनुभएको छ । ६ वर्षअघिको नाकाबन्दीको विरोध र भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा निकालेपछि प्रधानमन्त्रीको राष्ट्रवादी छवि बढेको पनि हो । तर माओवादीले प्रधानमन्त्रीको दावीमाथि प्रश्न उठाएको छ ।

उसले राष्ट्रियताको मुद्दालाई सौदाबाजीको विषय बनाई ओलीले देशलाई बाह्य शक्तिको क्रीडास्थल बनाएको गम्भीर आरोप लगाएको छ । माओवादीको निष्कर्ष छ प्रधानमन्त्रीका कारण देशमा विदेशी चलखेल बढ्दो छ ।

२. संविधानको ठाडो उल्लंघन र प्रतिगामी योजना
संविधान अनुसार बनेको मुलुकको कार्यकारी प्रमुखमाथि माओवादीले संविधानको उल्लंघन गरेको अर्को आरोप लगाएको छ । त्यसका पछाडि प्रधानमन्त्रीको प्रतिगामी योजना रहेको माओवादीको तर्क छ । अर्थात माओवादीले प्रधानमन्त्री माथि संविधान उल्लंघन गरेर यो व्यवस्था विरुद्ध नै जान खोजेको आरोप लगाएको छ ।

३. लोकतान्त्रिक मूल्य मान्यता र राजनीतिक नैतिकताहीन
प्रधानमन्त्रीले बारम्बार आफू लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको बताउँदै आउनुभएको छ । अरुले उहाँका काममा प्रश्न उठाउँदा पनि यही विषय अघि सारेर प्रतिवाद गर्ने गर्नुभएको छ, तर माओवादीका अनुसार प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य मान्यता एवंम राजनीतिक नैतिकताको धज्जी उडाउनु भएको छ । र उहाँले राजनीतिलाई सत्ताको फोहोरी खेलका रुपमा निकृष्ट ढंगले अघि बढाइरहनुभएको छ ।

४. समाजवाद र कम्युनिष्ट आन्दोलन विरोधी
प्रधानमन्त्री ओलीमाथि माओवादीको अर्को आरोप छ – समाजवाद र कम्युनिष्ट आन्दोलन विरोधी । किनकी चुनावमा जनताले दिएको जनादेश विपरीत सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई उहाँले ध्वस्त बनाएको माओवादीको ठहर छ । त्यस्तै कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको पनि माओवादीको आरोप छ ।

५. अध्यादेशबाट शासन गर्न खोजेको
प्रधानमन्त्रीले लोकतान्त्रिक र संसदीय मान्यताविपरीत चलेको माओवादीको अर्को आरोप छ । त्यसका लागि उसले अध्यादेशको विषय अघि सारेको छ । प्रधानमन्त्रीले अध्यादेशबाट शासन गर्न खोजेको माओवादीले आरोप लगाएको छ । पटकपटक अध्यादेश ल्याएपछि माओवादीले यो विषयलाई लिएर प्रधानमन्त्रीमाथि निशाना लगाएको छ ।

६. कोरोना नियन्त्रणमा असफल
प्रधानमन्त्रीले कोरोना नियन्त्रण गर्न सरकारले सबै शक्ति परिचालन गरेको र जनताको जीवन रक्षाका लागि सबै काम गर्दै आएको दावी गरिरहेको छ । तर माओवादी केन्द्रले त्यसलाई खण्डन गरेको छ । उसको निष्कर्ष छ–कोरोनाको दोस्रो लहरसँग जुध्ने सन्दर्भमा सरकारले नालायकी र अक्षमता प्रदर्शन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्