राजनीति

विश्वासको मत दिन कांग्रेससँग प्रधानमन्त्रीको आग्रह, कांग्रेसले दियो यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २२ गते १९:१९
विश्वासको मत दिन कांग्रेससँग प्रधानमन्त्रीको आग्रह, कांग्रेसले दियो यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

२२ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गर्नुभएको छ ।

पार्टी नेताहरुसहित देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गर्नुभएको हो । तर देउवाले विश्वासको मत दिन नसकिने जवाफ दिनुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको भन्दै आगामी दिनमा पनि सहकार्यको सम्भावना रहेको बताउनभएको थियो ।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेकाले ‘मिलेर जान’ प्रस्ताव गर्नुभएको छ । तर कांग्रेस नेताहरूले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक देखिएको र लोकतन्त्र संकटमा पार्ने काम ओली सरकारबाटै भएकाले पहिले त्यसलाई सुधार्नुपर्नेमा जोड दिएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहित बुढानीलकण्ठ पुगेका ओलीले कांग्रेस नेताहरूसँग एक घण्टा छलफल गर्नुभएको थियो ।

छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीले सत्ता जोगाउन जसपा अध्यक्ष महन्थ ठाकुरलाई मनाइसक्नु भएको छ भने पछिल्लो पटक देउवालाई पनि आफ्नो साथमा ल्याउने कोशिस गर्नुभएको छ । प्रधानमन्त्री ओलीले २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्