Main News

एमालेका लुम्बिनी प्रदेश सांसद डाँगीद्वारा राजीनामा, मुख्यमन्त्रीलाई झट्का

हिमालय टिभी
२०७८ वैशाख २२ गते १६:५१
एमालेका लुम्बिनी प्रदेश सांसद डाँगीद्वारा राजीनामा, मुख्यमन्त्रीलाई झट्का

२२ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ ।

दाङ २ खबाट निर्वाचित डाँगीले आज प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाउनुभएको हो ।

क्षेत्रीको राजिनामा स्वीकृत भैसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । डाँगीको राजिनामाले मुख्यमन्त्री पोखरेललाई झड्का लागेको छ । १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाइ बहुमतको बर्खिलाप, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस पारेको, संविधान, विधि र प्रक्रियाको चीरहरण गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेको उहाँले आरोप लगाउनुभएको छ ।

कतिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उहाँले उच्च रक्तचापको बिरामी भएकोले राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

यसअघि एमालेकै प्रदेशसभा सदस्य दूगनारायण पाण्डेले राजीनामा दिनुभएको थियो भने तत्कालीन नेकपाबाट प्रदेशसभामा निर्वाचित विमला खत्री माओवादी केन्द्र प्रवेश गर्नुभएको थियो ।

डाँगीले राजीनामा दिएपछि एमालेसँग अब ३८ सांसद छन् । ७९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ । डाँगी र मुख्यमन्त्री पोखरेलका एउटै गाउँका नेता हुनुहुन्छ । एकै ठाउँको भए पनि डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *