Main News

विदेशबाट आउन यात्रुका लागि काठमाडौंका आठ होटललाई तोकियो क्वारन्टिन

हिमालय टिभी
२०७८ वैशाख २२ गते १३:०६
विदेशबाट आउन यात्रुका लागि काठमाडौंका आठ होटललाई तोकियो क्वारन्टिन

२२ वैशाख २०७८ काठमाडौं । भारतसँग हुने हप्ताका दुई वटा उडानबाट नेपाल आउने यात्रुका लागि काठमाडौं उपत्यकाका ८ वटा होटललाई क्वारन्टिन तोकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु तोकिएका ८ वटा होटलमा मात्र क्वारन्टिन बस्नु पर्नेछ ।

मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटल, एयरर्पोटस्थित एयरर्पोट होटल, गौशालास्थित अमादब्लम, रिडर्स इन र आनन्द आश्रम, जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोटलाई होटल क्वारन्टिनका रुपमा तोकिएको छ ।

मन्त्रालयका अनुसार यी होटलले यात्रुलाई विमानस्थलबाट होटलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइने गरी होटललाई क्वारन्टिन तोकिएको छ ।

नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

हवाई मार्गबाट आउने यात्रु अनिवार्य १० दिन क्वारन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटलले प्रहरीलाई खबर गर्नुपर्नेछ ।

आन्तरिक उडान बन्द गरेको सरकारले भोलि रातिदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द गर्दैछ । तर, भारतबाट भने यी बिचमा पनि साताको दुई उडान हुनेछ । ती उडानबाट आउने यात्रुले अनिवार्य क्वारन्टिन बस्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *